धरान । आचरण विपरित कार्य गरेको उजुरी परेपछि सुनसरीको धरान उपमहानगरपालिकाले इमान्दारीपूर्वक ड्युटी पुरा नगर्ने ३ जना नगर प्रहरीमाथि कार्वाही गरेको छ ।
करार सेवामा रहेका एक जना असई र २ जना जवानलाई उपमहानगरपालिकाले मंसिरदेखि जागिरबाट निष्काशन गरेको जनाएको छ ।
उनीहरुले पछिल्लो समय पञ्चकन्या जंगल निरीक्षण गर्न पठाएको बेला घुम्न आएका जोडीको फोटो खिचेर बार्गेनिङ गरेको उजुरीसमेत उपमहानगरपालिकामा पुगेको थियो । इमान्दरीपूर्वक ड्युटी नगर्ने र आचरण विपरित काम गर्ने गरेपछि कारबाही गरिएको उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
पटक–पटक सचेत गराएर स्पष्टीकरण सोधे पनि आचरणमा सुधार नभएपछि मंसिरदेखि ३ जनालाई अवकाश दिइएको उपमहानगरले जनाएको छ । ड्युटीमा खटाएको बेला झाँेक चल्दा कुटपिट गरिदिएर अनावश्यक विवादसमेत उनीहरुले सिर्जना गरेको उपमहानगरको भनाई छ ।
सेवा प्रवाहभन्दा पनि कार्यालयलाई नै विवादमा फसाउने र समस्या झेल्नुपर्ने अवस्था सिर्जना भएपछि कारबाही गरिएको उपमहानगरले जनाएको छ । फोटो खिचेर बार्गेनिङ गरेको उजुरी पनि उपमहानगरमा परेको पुष्टि गर्दै वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले आधिकारिक रुपमा सम्बन्धित व्यक्ति नै सम्पर्कमा आएको जानकारी दिनुभयो ।