सुरक्षित आवास कार्यक्रममा मन्त्रीको चासो

विराटनगर । कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले सुरक्षित नागरिक आवास कार्यक्रमप्रति चासो ब्यक्त गर्नुभएको छ ।
आइतबार जिल्ला समन्वय समितिमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकमा कार्यक्रमको प्रगतिबारे मन्त्री तुम्बाहाङ्फेले चासो राख्नुभएको हो ।

मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाको अध्यक्षतामा बसेको क्षेत्र अन्तर्गतको समितिको बैठकमा चारवटा स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो । बैठकमा सहभागी मन्त्री तुम्बाहाङ्फेले कार्यविधिले समेट्ने नागरिकको यकिन तथ्याङ्क निकाल्दै चाँडो कार्यसम्पादनमा जुट्न आग्रह गर्नुभयो ।

अन्य क्षेत्रभन्दा बढी क्षेत्र १ मा लाभग्राही रहेको भन्दै तुम्बाहाङ्फेले स्थानीय तहले आफ्नो जिम्मेवारी पूरा गरे थप लाभग्राहीका लागि पनि बजेट ल्याउन पहल गर्ने बताउनुभयो । उहाँले पहिलो चरणमा पहाडी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिँदै कार्यविधिले समेटेका जनताको तथ्याङ्क न्यायपूर्ण रुपले संकलन गर्नसमेत आग्रह गर्नुभयो ।

संघीय सरकारले अघि सारेको सुरक्षित नागरिक आवास कार्यक्रम समन्वय समितिको अध्यक्ष क्षेत्रको प्रतिनिधिसभा सदस्य हुने व्यवस्था रहेको छ । बैठकले कात्तिक मसान्तभित्र लाभग्राहीहरुको पहिचान गरि मंसिर १५ सम्म सर्वेक्षणको काम सम्पन्न गर्ने निर्णय गरेको समन्वय समितिका अध्यक्ष मोरङ १ का प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

यस वर्ष उर्लाबारी, मिक्लाजुङ्ग, लेटाङ र केराबारी ओगटेको यस क्षेत्रमा क्रमशः २३०, ३९७, ३७२ र ३६९ गरि १ हजार ३ सय ६८ घरका फुसको छानो हटाई टिनको छानो लगाउने कार्यक्रम छ । यस्तै मोरङको क्षेत्र नम्बर २ मा १ हजार २ सय २८, क्षेत्र नम्बर ३ मा १ हजार १ सय १९ घरका फुसको छानो हटाइने भएको छ । मोरङ क्षेत्र नम्बर ४ का १ हजार १ सय २८, क्षेत्र नम्बर ५ का १ हजार ३ र मोरङ ४ का १ हजार ३२ घरका फुसको छानो हटाई टिनको छानो लगाउने तयारी भएको छ ।

छानो निर्माणको लागि स्थानीय तहसँग सम्झौता गरि काम शुरु हुने सुरक्षित नागरिक आवास समन्वय समितिका सदस्य सचिव शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कायान्वयन ईकाई मोरङका इञ्जिनियर राजु शर्माले बताउनुभयो ।

आइतबार, ०२ कार्तिक, २०७७, साँझको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर