विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गर्नुभएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गर्नुभएको हो ।
शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियैतले कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।
अन्य मन्त्रीहरुले मुख्यमन्त्रीसँग सोमबार सम्झौता गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सम्झौतापछि मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने बताउनुभयो । उहाँले सम्झौता बमोजिम काम अगाडि बढ्ने विश्वास व्यक्त गर्दै जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले सम्झौता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब मन्त्रीहरुसँग राज्यमन्त्री र सचिवले कार्य सम्पादन सम्झौता गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको कामलाई पारदर्शी र नतिजामूलक बनाउन कार्य सम्पादन सम्झौताको सुरुवात भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिनुभयो । त्यस्तै प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मसाथ गर्दे सम्झौता कार्यक्रमको थालनी भएको हो ।