विराटनगर । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत रतुवामाई नगरपालिकाका ३ सय ५ घरधुरीमा फुसको छानो हटाई जस्तापाता लगाईने भएको छ ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले फुसको छानो हटाएर जस्तापाता लगाउने निर्णय गरेको हो ।
रतुवामाईको वडा नम्बर १ देखि ५ सम्म प्रत्येक वडामा ३६ घरधुरी र वडा नम्बर ६ देखि १० सम्म २५ घरधुरीका दरले जस्तापाता लगाउने निर्णय भएको हो । वडा नं. ८ का अध्यक्ष नन्दकुमार चापागाईंका अनुसार नगरक्षेत्रका दक्षिणी वडाहरुमा विपन्न वर्गको बाहुल्यता भएकाले ती वडाका बासिन्दाहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
नगरपालिकाबाट वडा कार्यालयहरुले कार्यविधिसहितको पत्र प्राप्त गरे लगत्तै सेवाग्राहीहरुका लागि सार्वजानिक सूचना प्रकाशित गरिनेछ । सोही बमोजिम जस्तापाता लगाउने कार्य सुरु गरिने नगरपालिकाले जनाएको छ ।