काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ जना कोरोना सङ्क्रमित थपिँदा दुई हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन् ।
यो तथ्यांकले केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको देखाउँछ । आजसम्म कुल सङ्क्रमितमध्ये ६८.५प्रतिशत डिस्चार्ज भएका छन् । सोमबार मात्रै एक हजार ७३६ जना डिस्चार्ज भएका थिए भने आइतबार एक हजार ८१४ जनाले कोरोजना जितेर घर फर्केका थिए ।
हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ८६८ रहेको छ । जसमध्ये छ हजार ८१५ होम आइसोलेसनमा रहेका छन् भने आठ हजार ५३ संस्थागत आइसोलेनसमा छन् ।
संक्रमणबाट थप ६ को मृत्यु
कोरोना भाइरसबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६०, काठमाडौंका ८५ र कपिलवस्तुको ६२ वर्षीय पुरुष तथा काठमाडौँकै ८० वर्षीया महिला छन् ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३०६ पुगेको छ । जुन कुल सङ्क्रमितको तुलनामा ०.६३ प्रतिशत हो । विश्वभर दुई करोड ७४ लाख ९२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको छ । जुन कूल संक्रमितको तुलनामा मृत्यु हुनेको संख्या ३.२६ प्रतिशत हो । विश्वमा हालसम्म एक करोड ९५ लाख ९२ हजार २८० जना कोरोना संक्रमित निको भएका छन् ।