प्रदेश १ मा आइतबार १४३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा १४३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुरमा १ र प्रदेश १ बाहिरका १ जनामा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै इटहरीमा ५ महिला र २ पुरुषमा कोरोना देखिएको छ ।

यता मोरङको विराटनगरमा ९ महिला र १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला र २ पुरुष, कमल गाउँपालिकामा ३ महिला र ७ पुरुष, मेचीनगरमा २ महिला र ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता संखुवासभाको खाँदबारीमा ३, चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । झापाकी १ महिला र विराटनगरका १ पुरुषको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रदेशबाट आइतबार ७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । उनीहरु सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ८४३ पुगेको छ ।

प्रदेशमा आइतबार १ हजार २६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३१ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ९८ हजार ४८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आइतबार, २१ भदौ, २०७७, साँझको ०५:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर