होम आइसोलेसनका संक्रमितबारे सोधीखोजी शून्य

कोभिड–१९ संक्रमितको आइसोलेसन सम्बन्धी मापदण्ड, २०७७ अन्तर्गत घर आइसोलेसन स्वास्थ्य मापदण्ड पालनामा उदासिनता

विराटनगर । ‘संक्रमित भएको पुष्टि भएको ४ दिनपछि तपाईको आइसोलेसन केन्द्र गोठगाउँ हो जाउँ भन्दै सरकारी अधिकारी घरमा आइपुगे,’ होम आइसोलेसनमा बसिरहेका एक जना कोरोना संक्रमितले भने, ‘म होम आइसोलेसनमा बस्छु भनेर फर्काइदिँए, त्यसको दुई दिनपछि स्थानीय सरकारको कार्यालयबाट फोन आयो, कस्तो छ ? भने, मैले ठिकै छ भन्ने जवाफ दिएँ । उनले दैनिक रेकर्ड पठाउनु भने, कसरी रेकर्ड पठाउनु भनेर सोधेको थिएँ, इमेलमा फम्र्याट पठाउँछु भनेर उनले फोन राखे अहिलेसम्म कुनै इमेल आएको पनि छैन र सोधीखोजी पनि छैन ।’

‘म आफूलाई कोरोना संक्रमण नभएको अवस्थामा त समाचार आएको विषय पनि त्यति सारो त होइन होला, सरकार हो केही त गर्ला नि भन्ने सोचेको थिएँ, तर जब म संक्रमित भएँ र अहिले अनुभूति भएको छ कि हाम्रो सरकार रहेनछ,’ संक्रमित उनले थपे, ‘मेरो ज्वरो कति आयो, बसेको ठाउँ कस्तो छ, बस्दा पालना गर्नुपर्ने नियमहरु के के हुन् ? खानपानमा के कसरी ध्यान दिनुपर्छ, मापदण्ड के कस्ता छन् भन्ने विषयमा कसैले जानकारी लिँदैनन् पनि र दिएका पछि छैनन्, मैले आफन्त, साथीभाइको सहयोग तथा शुभेच्छाले मात्रै टिकिरहेको छु कि जस्तो लाग्छ ।’ कम्तीमा दिनमा १ पटक सोधी खोजी गरिदिए आफूहरुलाई धेरै आधार बन्ने उहाँको भनाइ छ ।

विराटनगरमै होम आइसोलेसनमा बसिरहेका अर्का संक्रमितको पनि गुनासो उस्तै छ, ‘मलाई सरकारले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने लाग्दैन, तर, दिनदैनिक के कसो छ भनेर कर्मचारी तथा प्राविधिकलाई फोन गरेर भएपनि बुझ्न चाहिं लगाउनु पथ्र्यो ।’  ५ जनासम्म संक्रमितसँगको कुराकानीका क्रममा गुनासो सबैको एउटै थियो । कसैले सोधीखोजी गरेन ।

नेपाल सरकार मन्त्रीपरिषद्ले कोभिड–१९ संक्रमितहरुको आइसोलेसन सम्बन्धी मापदण्ड, २०७७ तथा घर आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड जारी गरेको धेरै भइसक्यो । उक्त मापदण्डमा संक्रमणको कुनै लक्षण तथा चिन्हहरु नभएका र सामान्य लक्षण तथा चिन्हहरु भएका संक्रमित व्यक्तिहरु आ–आफ्नै घरमा आइसोलेसनमा बस्न सक्ने उल्लेख छ । तर त्यसरी बस्दा पनि न्यूनतम पुरा गर्नुपर्ने मापदण्डहरु उक्त घर आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्डमा उल्लेख छ ।

मापडण्ड अनुसार संक्रमित घरमा बस्न चाहेमा तोकिएका स्वास्थ्यकर्मीको विवरणसहित, संक्रमितको मञ्जुरीनामामा सही छाप गर्ने व्यक्तिको विवरण र साक्षी रहेको मञ्जुरीनामा हस्ताक्षरसमेत गराउनु पर्ने उल्लेख छ । तर, यहाँ मन्जुरीनामामा सही छाप गर्ने कुरा त परै जावस् अन्य फलोअपका कुनै पनि काम गरिएको छैन ।

मापदण्ड अनुसार दिनमा तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने, संक्रमितलाई श्वास प्रश्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने, हरेक स्थानीय तहले ५० जना संक्रमितका लागि १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने लगायत उल्लेख छ ।

स्वास्थ्य मापदण्डको परिच्छेद दुईको १४ नम्बर बुँदामा अनुगमन र फलोअपसम्बन्धी व्यवस्था छ । उक्त व्यवस्थामा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी (नर्स वा प्यारामेडिक्स)ले घरमा रहेका हरेक संक्रमितहरुको दैनिक कम्तिमा दुई पटक फोन वा एसएमएसबाट संक्रमितको स्वास्थ्य अवस्थाको जानकारी राख्नु पर्नेछ र सोको अभिलेख समेत अद्यावधिक गर्नुपर्नेछ भन्ने उल्लेख छ । यस्तै ‘स्वास्थ्यकर्मीले घरमा रहेका संक्रमितहरुको जानकारी सम्बन्धीत स्थानीय तहलाई गराउनु पर्नेछ’ भन्ने पनि उल्लेख छ ।

मापदण्डमा उल्लेखित कुराले संक्रमितको स्वास्थ्य अवस्था मूल्यांकन गर्न सकियोस्, उनीहरुलाई होम आईसोलेसनमा बस्दा कसरी आफ्नो हेरविचार गर्ने र परिवारको अन्य सदस्यहरुलाई संक्रमण सर्नबाट रोक्न सकिन्छ भन्नेबारे परामर्श दिनुपर्ने, होम आईसोलेसनमा बसेको बेला आकस्मिक सेवा लिनु परे कसलाई कसरी सम्पर्क गर्ने ? भन्ने विषयलाई लक्षित गरिएको डाक्टर बालकृष्ण साहको भनाइ छ । तर, विराटनगरको होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्यकर्मीको विवरण समेत उपलब्ध गराइएको छैन र असहज अवस्था आए पहिले कहाँ सम्पर्क गर्ने भन्ने विषय पनि दिइएको छैन ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने होम आइसोलेसनमा बस्नेहरुको नियमित अनुगमन गरिरहेको दाबी गर्नुभयो । महानगरपालिकाले छुट्टै टिम निर्माण गरेर काम गरिरहेको बताउनु भएको हो । महानगरपालिकाले होम आइसोलेसनका लागि भन्दै दिलिप यादवको नेतृत्वमा ३ जनाको टिम निर्माण गरेको जनाएको छ । यादवले ति संक्रमितसँग दिनमा २ पटकसम्म फोन गर्ने गरेको र विवरण लिने गरेको दाबी गर्नुभयो । ३ दिन अगाडिदेखि आफूले जिम्मेवारी पाएको बताउँदै उहाँले संक्रमितहरुले भनेजस्तो कुनै जानकारी नलिएको वा अनुगमनमा नगएको भन्ने कुरालाई इन्कार गर्नुभयो । यो समाचार तयार पार्दासम्मको तथ्यांक अनुसार विराटनगरमा कोरोना संक्रमितको संख्या ४ सय ६७ पुगेको छ । विराटनगरमा कोरोना संक्रमितमध्ये ६ जनाको मृत्यु भएको भइसकेको छ भने ७६ जना कोरोनामुक्त भएका छन् । यादवका अनुसार विराटनगरमा हाल एक सय बढी संक्रमितहरु होम आइसोलेसनमा छन् ।

प्रदेशमा कति छन् होम आइसोलेसनमा ?

सरकारले समयमै आइसोलेशन बनाउन नसकेको कारण संक्रमितहरु घर, परिवार र समाजमै छन् । कोरोना संक्रमण देखिएकामा कुनै लक्षण नदेखिएको भएपनि अन्य व्यक्तिको सम्पर्कमा उनीहरुलाई जान नदिन छुट्टै आइसोलेट गरेर राख्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७ पुगेको छ । प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना मोरङका हुन् भने ४ जना प्रदेश २ का हुन् । हालसम्म प्रदेश १ मा १ हजार ७५ जना संक्रमित निको भएको तथ्यांक छ । अझै ८ सय ३२ जना कोरोना संक्रमित आइसोलेसनमा बस्नुपर्ने रहेका छन् । प्रदेश सरकारले ५०७ शैयाको आइसोलेसन निर्माण गरेको दाबी गरेपनि हालसम्म २ सय ५९ जना मात्रै आइसोलेसनमा भर्ना भएका छन् । त्यसबाहेकका अन्य संक्रमितहरु भने होम आइसोलेसनमै रहेका छन् । पछिल्लो पटक संक्रमितलाई राखिएको विराटनगर १९ को वैजनाथपुर स्वास्थ्य चौकी, मारवाडी सेवा सदन, रंगेलीको क्याम्पसलगायतका स्थानमा पनि संक्रमित राखिएको छ ।

होम आइसोलेसनमा बस्नेको विवरण नै गायव

केही समय अगाडिसम्म प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको कोभिड–१९ संक्रमितको विवरणमा होम आइसोलेसनमा बस्नेहरुको पनि उल्लेख हुने गरेको थियो । तर, पछिल्लो तथ्यांकमा उक्त विषय सार्वजनिक गर्न जरुरी नभएको भन्दै विवरण उल्लेख गरिएको छैन ।

‘औपचारिक आइसोलेसन केन्द्रमा मात्र नभई होम आइसोलेसनमा समेत संक्रमितहरु रहेको अवस्थामा तात्विक अर्थ नरहने देखिएकोले यस तालिकाको ‘हाल व्यवस्थापनको प्रक्रियामा रहेका’ महल हटाइएको’ सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

शनिबार, ३१ साउन, २०७७, दिउँसोको ०४:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर