विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नं. ४ अहिले विकास र प्रगतिको पथमा लम्किरहेको छ । स्थानीय सरकार गठन भएको पछिल्लो ३ बर्षको अवद्यिमा विकासप्रेमी जनप्रतिनिधि, पर्याप्त दीर्घकालीन योजना र उत्पादनमुखी बजेटले गर्दा वडामा निकै परिवर्तन आएको छ । जनताले विकासको अनुभुति गर्न पाएका छन् ।
पुर्वमा लोहन्द्रा पुल, पश्चिममा काली भाषा, उत्तरमा भौडाहा र दक्षिणमा चमराही चौकसम्म फैलिएको यो वडा बहुजातीय र बहुसांस्कृतिक विविद्यताले भरिपुर्ण छ । बाहुन, क्षेत्री, दमाई, मधेशी, जनजाति, मुस्लिम, सुकुम्बासी र बहुसंख्यक दलित समुदायको बसोबास रहेको यस वडाका जनताले ३ बर्ष पहिलेसम्म विकासको अनुभुति गर्न पाएका थिएनन् । विकट अवस्थामा रहेको कच्ची सडक र बिजुलीबत्तीको सिमित पहुँच यस वडाका प्रमुख समस्याहरु थिए ।
तर अहिले ती समस्याहरु समाधान भएका छन् । जनताको अनुहारमा खुशी छाएको छ । कटहरी गाउँपालिकाको वडा नं. ४ मा अहिले विकास र प्रगतिको रथ तीव्रताका साथ दौडिएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष मन्टु शेखले वडाको बागडोर सम्हालेपछि जनताको घरघरमा बिजुलीबत्तीको पहुँच सम्भव भएको छ । टोलटोलमा पक्की सडकको विस्तार भएको छ ।
वडा नं. ४ मा हालसम्म हाईवेसँग जोडिएका ७ किलोमिटर शाखा सडकखण्डहरु कालोपत्रे भईसकेका छन् । ४ किलोमिटरको ११ वटा कच्ची सडकहरु ग्राभेल भएका छन् । २५ लाखको बजेटमा ती सबै सडकखण्डहरुमा ३० वाटको कुल २ सय ४८ वटा सडकबत्ती समेत जडान गरिएका छन् । रात परेसँगै अँध्यारो हुने जनताका घरदैलो र सडक हाल झिलीमिली भएका छन् ।
बिशेष गरि वडा नं. ४ को जामुनगाछी टोलदेखि भौडाहा सीमासम्म ३८, लोहन्द्रा घाट क्षेत्रमा ४, नयाँ बजार हुँदै वडा नं. ६ को सीमा जोडने बाटोमा ३, नयाँबजारदेखि ब्रमथानसम्म २५, नयाँ बजार मार्केटमा १२, सुकुम्बासी बस्तीमा १५, रमेश सिंह टोलमा ३८, खयरबना रोडमा २१ र पहाडे बस्ती रोडमा ४५ वटा सडकबत्तीहरु जडान गरिएका छन् । आगामी समयमा ती सबै शाखा सडकखण्डहरुमा सोलार बत्ती जडान गर्ने वडाको योजना रहेको छ ।
यस्तै प्रदेश सरकारसँगको सहकार्यमा वडा नं. ४ ले कुल ८० लाखको बजेटमा सामुदायिक भवन निमार्णको कार्य पनि थालेको छ । आगामी १ बर्षभित्र सो भवनको निमार्ण कार्य पनि सम्पन्न भईसक्ने वडाध्यक्ष मन्टु शेखको भनाई छ । १ हजार ६ सय घरधुरी रहेको यस वडामा हाल ११ वटा स–साना सडकखण्डहरु ग्राभेल भएका छन् । वडाले एक कुशल जनप्रतिनिधी पाएपछि पछिल्लो ३ बर्षको अवद्यिमा वडाले काँचुली फेरेको स्थानीय रबिन ठाकुर बताउनुहुन्छ ।
मोरङको कटहरी गाउँपालिकाको वडा नं. ४ ले अहिले थप विकास देख्न बाँकी नै छ । कुशल जनप्रतिनिधीको अभावका कारण विकासमा पछि परेको यो वडा अब कटहरीकै नमुना वडाको रुपमा विकसित हुने वडाध्यक्ष शेखको दाबी छ । आगामी बर्षहरुमा शिक्षा, स्वास्थ्य र खानेपानी वडाको प्रमुख प्राथमिकतामा रहने जनाईएको छ ।