पिसिआर रिपोर्ट विभेदको शिकार

भिआइपीको आजको भोली, सर्वसाधरणको ५ दिनमा पनि आएन पिसिआर रिपोर्ट

विराटनगर । ‘सरकारको भर पर्नु मरण स्वीकार्नु’ विराटनगरका अग्रज पत्रकार मोहन भण्डारीले सोमबार सामाजिक संजालमा पोष्ट गरेको यो स्टाटसले आफ्नो पिसिआर रिपोर्ट आउन ढिलाइ भएकोप्रति इंगित गर्नुभएको हो ।

भण्डारीले मात्रै होइन सोमबार साँझ विराटनगरका मेयर भीम पराजुलीले पनि सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै प्रश्न गर्नुभएको छ । ‘पिसिआर रिपोर्ट चाँडो गराइदिनु पर्यो भनेर क–कसलाई चाकडि गर्नुपर्ने ? हरेक कुरामा असहयोग यो त अति भो ?’, मेयर पराजुलीको स्टाटसमा उल्लेख छ । मेयर पराजुलीले यस्तो स्टाटस लेखेपछि सबैले बुझ्दा हुन्छ, सर्वसाधरणाको अवस्था विराटनगरमा के होला ?

विराटनगरबाट प्रकाशित उद्घोष दैनिकका सम्पादकसमेत रहनु भएका भण्डारी अहिले कोरोना संक्रमणको लक्षण (ज्वरो आउने, टाउको दुख्ने)ले सिकिस्त भएर घरमै ओछ्यानमा हुनुहुन्छ । उहाँसँगै काम गर्ने पत्रकारहरु संजीव खनाल, कमल रिमाल, बाबुराम भण्डारी र अर्का दुई जना संचारकर्मीलाई यो समाचार तयार पार्दासम्म कोरोना पुष्टि भइसकेको छ ।

जसमध्ये संजीव खनाल र कमल रिमाललाई बिहीबार दिएको नमूना परीक्षणको रिपोर्ट शुक्रबार नै आएको थियो । यस्तै सँगै नमूना दिएका बाबुराम भण्डारीको रिपोर्ट शनिबार आएको थियो । तर, शुक्रबार नै नमूना संकलन गरेर पठाएको अग्रज पत्रकार मोहन भण्डारीको भने अझै आएको छैन । ‘कसैको आजको भोली रिपोर्ट आउँछ, कसैको ५ दिनमा पनि रिपोर्ट आउँदैन,’ भण्डारीले आक्रोश व्यक्त गर्दै भन्नुभयो, ‘सरकार छ र जिम्मेवार मानिसहरु त्यहाँको नेतृत्वमा छ भन्ने कुरा अब कसरी विश्वास गर्नु ?’

सँगै काम गर्ने साथीहरुको रिपोर्ट धमाधम कोरोना पोजेटिभ आइरहनु र आफू दिनदिनै सिकिस्त बिरामी हुँदै जाँदा सहनै नसक्ने पीडा भएपछि भण्डारीले आज ‘सरकारको भर पर्नु मरण स्वीकार्नु’ भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्नु भएको हो ।

संक्रमणको लक्षण देखिएर ५ दिनदेखि ओछ्यानमा परेका भण्डारीलाई फोन गर्दा ‘खोकी र ज्वरोले सताएर उठ्नै नसक्ने भएको छु’ भन्ने जवाफ आयो । भण्डारीले अहिले फिजिसियन डाक्टर दिपक सिग्देलको सल्लाह अनुसार केही औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । ‘हामी बिरामीको पिसिआर गर्न नमूना लगेको ५ दिन भइसक्यो रिपोर्ट अझै आएको छैन, भिआइपीको नाममा पद र पहुँचमा हुनेहरुको आजको भोली रिपोर्ट आइरहेको छ,’ सानो आवाजमा भण्डारीले असन्तुष्टि जनाउनु भयो, ‘खै मेरो नमूना पोखिएको, छरिएको वा मिसमास भएको खबर आएको छ, सम्पर्क गर्दा अब आउँछ भन्छन्, कहिले आउँछ कुनै टुंगो छैन ।’

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री, अन्य मन्त्री तथा कतिपय कर्मचारीहरुको नमूना संकलन गरेको भोलिपल्टै पिसिआर रिपोर्ट सार्वजनिक भयो । तर, मन्त्रालयले जारी गरेको रिपोर्टमा गत २० गते नमूना संकलन गरेकाको रिपोर्ट र २५ गते नमूना संकलन गरेको रिपोर्ट पनि आजै सार्वजनिक भएको उल्लेख छ ।

मोरङ जिल्ला अदालतका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँ अन्य कर्मचारी तथा न्यायाधिशहरुको नमूना संकलन गरेपछि एक दिन पनि नबित्दै रिपोर्ट सार्वजनिक भयो । आइतबार साँझ न्यायाधीशमा कोरोना संक्रमण रहेको रिपोर्ट आएको थियो । अदालतका अन्य कर्मचारीको रिपोर्ट नमूना संकलन गरेकै दिन आइसकेको छ ।

स्वाब संकलन गरेपछि रिपोर्ट ढिलो आएको विषयमा प्रतिक्रिया दिँदै नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष विक्रम लुईटेलले पनि असन्तुष्टि जनाउनु भएको छ । ‘मापदण्ड विपरित स्वाब संकलन बन्द गरेर प्रदेशको क्षमता अनुसार स्वाब सकलन गरौं,’ लुईटेलले भन्नुभयो, ‘पिसिआरको लागि उपकरण थपौं, नभए रिपोर्ट आउने मानिसमा झन् तनाब थपियो ।’

प्रदेश १ का प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादव स्वयं नमूना संकलन गरेको ७२ घण्टाभित्र परीक्षण नगरे त्यसको कुनै अर्थ नहुने बताउनु हुन्छ । ‘नमूना संकलन गरेको ७२ घण्टासम्म त्यसको आयु हुन्छ, त्यसपछि भिटिएममा राखेको छ भने काम लाग्दैन,’ यादवले भन्नुभयो, ‘तर, ७२ घण्टा अगाडि नै स्ट्र्याक्सन (निचोरेर फ्रिजमा स्वाब राख्ने काम) गरिसकेको छ भने जतिदिन पनि नमूना राख्न सकिन्छ ।’

‘नमूना संकलनको काम धेरै भएको कारणले गर्दा ढिलाइ भएको हो । कुनै अस्पतालको आइसियु भेन्टिलेटरमा छ भने त्यसको छिटो आउँछ, कोही बिरामी छट्पटिएको अवस्था छ भने उसलाई पहिलो प्राथमिकता दिने नै हो,’ यादवले भन्नुभयो, ‘जेनेरल कसको बारेमा सोध्नु भएको हो भने कुन ल्याबमा नमूना पठाएको हो, त्यसैलाई भन्नुहोस् ।’

यादवले किन ढिलो भयो भन्ने कुरामा आफूले कुनै जवाफ दिन नसक्ने पनि बताउनु भयो । ‘कलेक्सन गर्नेहरुले नमूना काहाँ जिम्मा लगाएको छ, त्यसको बारेमा जानकारी दिनुभयो भने म सोध्छु,’ यादवले भन्नुभयो, ‘कोशीमा दिएको हो भने कोशीमै सोध्नु होला ।’ पद र पहुँचमा भएकाहरुको छिटो रिपोर्ट आउने तर, सामान्य नागरिकको ढिलो किन हुन्छ भन्ने प्रश्नमा जवाफ दिँदै यादवले त्यो लाग्नु स्वभाविकै भएको जवाफ दिनुभयो ।

एक जना संक्रमितले नाम उल्लेख नगर्ने शर्तमा भनेका छन्, ‘मेरो रिपोर्ट आएपछि मेरी श्रीमतीसहित मसँगै काम गर्ने साथीहरुको नमूना संकलन गरेको आज ३ दिन कटिसकेको छ तर, अहिलेसम्म रिपोर्ट आएको छैन ।’ सरकारी निकायमा निक्कै पहुँच राख्ने उनले भने, हाम्रो अवस्था छ यस्तो छ, सर्वसाधरणको अवस्था के हुन्छ होला ?, यो अवस्थाको अन्त्यका लागि दबाब दिनु आवश्यक छ ।’

सोमबार, २६ साउन, २०७७, रातीको १०:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर