कोरोनाबाट उत्तर प्रदेशकी मन्त्रीको मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमण भएकी भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानी वरूणको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षामन्त्री रहेकी ६२ वर्षीया कमला रानीको आइतबार मृत्यु भएको हो ।

बरुणलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो। उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचार भइरहेको थियो। मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुस्ख व्यक्त गर्दै आइतबार अयोध्या जाने कार्यक्रम रद्द गर्नुभएको छ ।

कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट जितेकी थिइन् । यसअघि उनी लोकसभाकी पनि सांसद बनिसकेकी छन्।

पछिल्लो समय भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३७ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।

आइतबार, १८ साउन, २०७७, बिहानको ११:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर