कोरोना संक्रमितको संख्या एक करोड नजिक

कोरोना भाइरसको औसत मृत्युदर ५ प्रतिशत

विराटनगर । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नजिक पुगेको छ । झण्डै एक करोड व्यक्तिमा संक्रमण हुँदा त्यसका कारणबाट मृत्यु हुनेको संख्या करिव ५ लाख पुगेको छ ।

अहिलेसम्म विश्वका ९८ लाख ९८ हजार २२० व्यक्तिमा कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । कोरोना भाइरसको सरदर मृत्युदर करिव ५ प्रतिशत देखिएको छ । एक करोड व्यक्तिमा संक्रमण हुँदा करिव ५ लाख मानिसको मृत्यु हुनपुगेको छ । एक करोड व्यक्तिमा संक्रमण फैलिदाँ कोरोना भाइरसको मृत्युदर २.५ देखि ३ प्रतिशत छ भन्ने अनुमान प्रमाणित हुन सकेन । कोरोनाको मृत्युदर अहिलेसम्म ५ प्रतिशत पुगेको छ । अहिलेसम्म ४ लाख ९६ हजार ७७ व्यक्तिको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।

भाइरस संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा २५ लाख ५२ हजार ४४५ व्यक्ति संक्रमित भइसकेका छन् । त्यहाँ आजमात्र ४७ हजार भन्दा बढी नयाँ केसहरु भेटिएका छन् । अहिलेसम्म अमेरिकामा १ लाख २७ हजार ६४० जनाको मृत्यु भएको छ । अमेरिकामा पनि कुल संक्रमितमध्ये ५ प्रतिशतको मृत्यु भएको छ ।

दोश्रो बढी प्रभावित मुलुक ब्राजिलमा १२ लाख ८० हजार ५४ व्यक्तिमा भाइरस संक्रमण भइसकेको छ । ब्राजिलमा ५६ हजार १०९ जनाको मृत्यु भएको छ । कोभिड १९ का कारण ब्राजिलको सरदर मृत्युदर करिव ४.४ प्रतिशत देखिएको छ ।

कोरोना भाइरसबाट प्रभावित मुलुक रुस तेस्रो स्थानमा छ तर त्यहाँको मृत्युदर भने तुलनात्मक रुपमा कम देखिएको छ । रुसमा ६ लाख २० हजार ७९४ व्यक्तिमा भाइरस संक्रमण भएको छ । संक्रमणका कारण ८ हजार ७८१ जनाको मृत्यु भएको छ । यो करिव १.४१ प्रतिशत मात्र हो ।

दक्षिण एशियाली मुलुक भारत कोरोना भाइरसबाट प्रभावित विश्वको चौथो राष्ट्र हो । भारतमा ५ लाख ९ हजार ४४६ व्यक्तिमा भाइरसको संक्रमण भइसकेको छ । भारतमा अहिलेसम्म १५ हजार ६८९ व्यक्तिको मृत्यु भएको छ । भारतमा सरदर ३.०८ प्रतिशत संक्रमितको मृत्यु भइरहेको छ ।

शनिबार, १३ असार, २०७७, बिहानको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर