एजेन्सी । आफ्नो भूमिमा घुसेको भन्दै भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा चिनिया सैनिकको आक्रमणमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ ।
१५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक कर्णेलसहित १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतीय दैनिक भास्करले अरू १५ सैनिक बेपत्ता भएको उल्लेख गरेको छ ।
भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । भारतीय सेनाका अनुसार दुबै देशका सेना गलवान क्षेत्रबाट अहिले पछि हटेका छन् । झडपमा तीन जनाको मृत्यु भएको थियो भने १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाइ भएको इलाकामा गम्भीर घाइते भएका १७ सैनिकको मृत्यु भएको हो ।
भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्न लागेको पनि उल्लेख गरेको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्ना सैनिकलाई रोक्न र विवाद समाधानका लागि वार्ताको बाटो अपनाउन भनेका छन् ।
भारतीय सैनिकले आफ्नो वाचा उल्लंघन गरेर नियन्त्रण रेखा पार गर्दै चिनियाँ सेनालाई उक्साएर आक्रमण गरेकोले घटना भएको चीनको भनाइ छ ।
चिनिया सेनाले भारतले आफ्ना सैनिकलाई कडाइका साथ रोकोस् र वार्तामार्फत् विवादलाई सुल्झाइयोस् भनेको छ ।
सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो ।
भारतीय सञ्चारमाध्यमले घटनामा चिनियाँ पक्षको पनि ठूलो संख्यामा हताहत भएको उल्लेख गरेका छन् । तर, यसबारे चीनले कुनै जानकारी दिएको छैन ।
कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सीमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको छ । भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ ।
सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर दुई देशबीच तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो ।