भारत–चीनीया सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

एजेन्सी । भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ।

भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो।

बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत(चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले सोमबारको घटनाको पुष्टि गरेको छ। सोमबार भारतीय सैनिकले यसअघिको सहमतिविपरीत दुई पटक सीमा पार गरेर आएको र उत्तेजित पार्ने खालको आक्रमण गरेको चीनको भनाइ छ। ‘त्यसपछि भएको झडपमा तीन भारतीय सैनिकको मृत्यु भएको हो,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ।

झडपका क्रममा चिनियाँ सैनिकतर्फ पनि हताहती भएको भारतको दाबी छ। तर बेइजिङले भने यसबारेमा औपचारिक जानकारी दिएको छैन। भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको भए पनि धेरैपछि सैनिकहरूको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो।

चीनले भारतलाई तनाव बढ्नेगरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

– बिबिसी

मङ्गलबार, ०२ असार, २०७७, दिउँसोको ०१:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर