विराटनगर । बन्दाबन्दीको स्वरुप परिवर्तन भएपछि आजदेखि देशभरका सरकारी कार्यालयहरु सञ्चालनमा आएका छन् । सरकारले दुई चरणमा कार्यालय सञ्चालन गर्ने गरी एकै दिनमा पाँच पाँच घण्टे मय तालिका तयार गरेको छ ।
अब सरकारी कार्यालयहरु पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म खुल्ने छ भने दोश्रो चरणमा १ बजेदेखि साँझ छ बजेसम्म सञ्चालन हुनेछ । समग्रमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सरकारी कार्यालय खुला रहने छ । दुई चरणमा सञ्चालन हुँदा सेवाग्राहीले सरकारी कार्यालयबाट दैनिक १० घण्टा सेवा पाउने छन् ।
सेवाग्राहीको भिडभाड हुने कार्यालयमा पालो प्रणालीका माध्यमबाट कामलाई व्यवस्थित गर्न र ज्वरो मापन तथा मास्कलाई अनिवार्य गर्न सरकारले भनेको छ ।
बन्दाबन्दी खुकुलो बनाएको अवस्थामा पनि देशमा कुनैपनि सार्वजनिक भेला, कार्यक्रम, सभा, गोष्ठिहरु हुने छैनन् । व्यवसाय तर्फ सिनेमा हल, पुस्तकालय, स्वीमिङपुल, सपिङ मल, पार्टी प्यालेस, शैलुन आदि बन्द नै रहने छ ।