विराटनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अहिलेसम्म १२५ गैरआवासीय नेपालीको मृत्यु भएको छ ।
एनआरएनएका अनुसार कोरोनाबाट यो साता विश्वभर ६ जना गैरआवासीय नेपालीको मृत्यु भएपछि मृतकको संख्या १२५ पुगेको हो ।
अहिलेसम्म ५ हजार ५ सय ९० जना संक्रमणमुक्त भएका छन् भने संक्रमण दर पनि घटेको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिब सापकोटाका अनुसार यो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरी ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन्।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् भने १३ देशमा रहेका नेपालीहरुको मृत्यु भएको छ। कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस्, र स्वीडेनमा रहेका १२५ नेपालीको मृत्यु भएको हो ।
यस्तै विश्वभर १४ हजार ४ सय ५४ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्। नेपालमा कोरोना संक्रमणको संख्या ३ हजार २ सय ३३ जना रहेको छ भने १३ जनाको कोरोनाबाटै मृत्यु भएको छ ।
सरकारले पहिलो पटक बर्माबाट २६ र युएईबाट १६८ जना नेपालीलाई स्वदेश फर्काएको छ।