बाढीपहिरोको समेत दोष खेप्ने सरकारले भदौ २३ को घटनाबाट उम्किन मिल्दैन : पूर्वराष्ट्रपति भण्डारी

बाढीपहिरोको समेत दोष खेप्ने सरकारले भदौ २३ को घटनाबाट उम्किन मिल्दैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक प्रकोपजस्तो अनियन्त्रित घटनामा समेत जवाफदेही हुनुपर्ने सरकारले भदौ २३ गतेको बीभत्स घटनाको जिम्मेवारीबाट भाग्न नमिल्ने बताएकी छन् ।

कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा बोल्दै उनले एउटै समयमा २२ जनाको ज्यान जाने गरी भएको उक्त घटनामा तत्कालीन सरकार प्रमुखका हैसियतले केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने स्पष्ट पारिन् । भण्डारीले तर्क गरिन्, “सरकारको नियन्त्रण बाहिर हुने बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप आउँदा त व्यवस्थापन गर्न सकेन भनेर सरकारलाई दोष आउँछ भने, सुरक्षा प्रबन्ध कमजोर हुँदा भएको यति ठूलो मानवीय क्षतिको अपजस सरकारले लिनुपर्दैन ?”

कुनै पनि पदमा बहाल रहेको व्यक्ति अभिभावक हुने भएकाले आफ्नो मातहतमा घटेका घटनाको नैतिक जिम्मेवारी नेतृत्वले लिनैपर्ने उनको भनाइ छ । एमालेकै पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले तत्कालीन प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै विद्यार्थीहरूको जुलुसमा भएको गोलीबारी र २२ जनाको निधनलाई ‘नेपालको इतिहासकै दुःखद् घटना’ भएको बताइन् ।

उनले राजनीतिक नेतृत्वको दोष कति हुन्छ भन्ने कुरा बहसको विषय भए पनि अभिभावकीय भूमिकामा रहेको तत्कालीन सरकारले यसको नैतिक जिम्मेवारी र अपजसबाट पन्छिन नसक्ने कडा सन्देश दिएकी छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्