विराटनगर । जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी ब्रान्ड प्रोटोन ईमासले विराटनगरमा अत्याधुनिक ‘थ्रीएस’ सेल्स, सर्भिस र स्पेयर पार्ट्स शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले पूर्वी नेपालका ग्राहकलाई लक्षित गर्दै विश्वस्तरीय सुविधासहितको शोरूम स्थापना गरेको हो ।

कम्पनीका अनुसार यो शोरूमले नेपालभर आफ्नो नेटवर्क विस्तार गर्ने लक्ष्यमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ । ग्राहकहरूले यस केन्द्रबाट बिक्री परामर्श, प्राविधिक सेवा र स्पेयर पार्ट्सको सुविधा एकै ठाउँबाट पाउनेछन् ।

नाडा कोशीका अध्यक्ष दिल्लीराम आचार्यले शोरूमको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले विराटनगर नवप्रवर्तन र प्रगतिमा अग्रणी बजार रहेको उल्लेख गर्दै नयाँ शोरूममार्फत पूर्वी क्षेत्रमा विद्युतीय सवारीको इकोसिस्टम विकास गर्न लागिपरेको बताए । ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा, अत्याधुनिक प्रविधि र वास्तविक मूल्य प्रदान गर्दैछौं, ’ उनले भने ।

कार्यक्रममा गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी तथा अन्तरक्रियात्मक सत्रहरू पनि आयोजना गरिएको थियो । प्रोटोन ईमासले पूर्वदेखि पश्चिमसम्म आफ्नो उपस्थिति विस्तार गर्दै सफा, स्मार्ट र दिगो यातायातलाई नेपाली उपभोक्तासम्म सहजै पुर्‍याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।