विराटनगर । विराटनगर भन्सार कार्यालयमा राजस्व छलीका लागि सीसीटीभी क्यामेराले नभ्याउने ‘ब्लाइन्ड स्पट’ रोजेर सामान पास गराउने गिरोहका मुख्य अभियुक्त धरौटीमा छुटेका छन्।
भन्सार एजेन्टका प्रतिनिधि कुन्दन मण्डलसहित पक्राउ परेका तीन जना जनही ५ लाख २८ हजार रुपैयाँका दरले कुल १५ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।
भन्सार छलीको आरोपमा कात्तिक ११ गते पक्राउ परेका उनीहरूबाट प्रारम्भिक अनुसन्धानमा करिब साढे ६ लाख रुपैयाँ राजस्व छली भएको खुलेको थियो। विराटनगर भन्सारका सूचना अधिकारी विमल कुमार साहले भन्सार ऐनअनुसार तोकिएको धरौटी रकम बुझाएपछि उनीहरू रिहा भएको पुष्टि गरे। ‘धरौटीमा छुटे पनि मुद्दाको अनुसन्धान प्रक्रिया जारी छ, यो टुङ्गिएको छैन,’ साहले भने।
मण्डलले को १ त ९७१७ नम्बरको ट्याक्टरमा ल्याएका ५५ पोका सामानमध्ये ४५ पोकाको मात्र भन्सार तिरेका थिए। बाँकी १० पोका सामान जाँचपास हुनुअघि नै परिसरभित्रै रोकिराखेको एउटा एम्बुलेन्समा लुकाएर बाहिर निकाल्ने तयारी भइरहेको अवस्थामा सूचनाको आधारमा खटिएको भन्सारको टोलीले ती सामान बरामद गरेको थियो।
विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार, बरामद १० पोका सामानको मूल्य करिब ५ लाख रुपैयाँ हो, जसमा करिब १ लाख ५० हजार रुपैयाँ राजस्व लाग्छ। ती सामानमा खेलौना, कपडा र कुर्ता सुरुवाल जस्ता सामग्री थिए।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, मण्डलले भन्सार छलीका लागि चलाखीपूर्ण तरिका अपनाउँदै आएका थिए। उनले सामान जाँचपासका लागि भन्सार गोदामको सीसीटीभी क्यामेराले नदेख्ने ब्लाइन्ड स्पट अँध्यारो कुनो रोज्ने गरेका थिए। ‘मण्डलले गोदामको त्यही कुनामा ट्याक्टर लगेर सामान अनलोड गर्थे र जाँच गरेजस्तो गरेर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा धेरै सामान पास गराउँथे,’ ती अधिकारीले भने। पक्राउ परेका मण्डल भन्सार एजेन्ट सौगात पोखरेलका सहयोगी भए पनि राजस्व छलीको योजना बनाउने र कार्यान्वयन गर्ने मुख्य भूमिकामा उनी नै रहेको स्रोतको दाबी छ।
