इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले करिब एक क्विन्टल गाँजा बरामद गरेको छ ।

सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले सफारी र २ जनालाई नियन्त्रणमा लिएको छ ।

कल्पना राईको घरमा रहेको सिटी सफारीस्मा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३५ वर्षीया कल्पना राईको घरबाट प्र–१–०२–००३ ह ९०५५ नम्बरको सीटी सफारीमा लोड गरिएको अवस्थामा बिहीबार दिउँसो ९८ किलो गाँजा फेला परेको थियो ।

प्रहरीले घरधनी कल्पना र भोजपुरको रामप्रसाद गाउँपालिका–७ घर भइ इटहरीस्थित कल्पनाको घरमा बस्दै आएका २० वर्षीय मनोज राईलाई पक्राउ गरेको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको सफारी पनि इटहरी प्रहरीकै नियन्त्रणमा छ ।