जनकपुर । मधेश प्रदेशमा राजनीतिक द्वन्द्व चरम उत्कर्षमा पुगेको छ । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई लुकिछिपी होटलमा बोलाएर मुख्यमन्त्री नियुक्त गर्दै सपथ खुवाएपछि चर्केको विवाद अझै बढिरहेको छ ।
सुवेदीले नेकपा एमालेको निर्देशनमा असंवैधानिक कदम चालेको ठहर गर्दै संघीय सरकारले बर्खास्त गरिसकेको छ भने प्रदेशसभाका सभामुखमाथि पनि एमालेको निर्देशनमा चलेको आरोपसहति अविश्वास प्रस्ताव दर्ता भएपछि विवाद थप चर्केको छ ।
नयाँ सरकार गठनका क्रममा चर्किएको विवाद बिहीबार उत्कर्षमा पुगेको हो । एमालेबाहेका सात दलका ७४ सांसदले सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि
मण्डलले त्यसलाई रोक्ने प्रयास गरेका थिए । तर, उपसभामुखले प्रस्ताव दर्ता गराएपछि मण्डलले पाँच सांसदलाई पदमुक्त गरेको सूचना जारी गरे ।
सभामुख मण्डलले लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै जसपा र नागरिक उन्मुक्ति पार्टीका पाँच सांसद—उर्मिला देवी सिंह, मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन सा कलवार र शारदा शंकरप्रसाद कलवार—लाई प्रदेशसभा सदस्यताबाट हटाउने सूचना जारी गरेका थिए । सचिवालयद्वारा सार्वजनिक गरिएको सूचनामा संविधान र प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम उनीहरूको पद रिक्त भएको उल्लेख छ ।
सभामुखले हचुवाको भरमा निर्णय गरेको र निज सांसदहरु संसदको २२ गतेको बैठकमा पनि उपस्थित रहेको दलहरुले दावी गरेका थिए । लगत्तै सभामुख मण्डको निर्णयलाई उपसभामुख बबिताकुमारी राउत ईशरले ‘अवैध’ ठहर गर्दै बदर गरेकी छन् । उनले जारी गरेको सूचनामा अविश्वास (महाभियोग प्रकृतिको) प्रस्ताव दर्ता भइसकेपछि सभामुख मण्डलको अधिकार स्वतः सीमित हुने भन्दै उनको कारबाही वैधानिक नहुने स्पष्ट गरेकी छन् ।
उपसभामुख राउतले कारबाहीमा परेका भनिएका पाँचै सांसद पछिल्लो विश्वासको मतमा उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट पुष्टि भएको जनाएकी छन् । उनले सभामुख मण्डलद्वारा प्रकाशित पद रिक्तको सूचना स्वतः बदर भएको बताएकी छन् ।
घटनाबाट प्रदेशसभामा सत्ता संघर्षको खुलेर सतहमा आएको छ । मुख्यमन्त्री नियुक्तिबाट सुरु भएको विवादमा एमालेका तर्फबाट निर्वाचित सभामुख मण्डल र जनमत पार्टीकी उपसभामुख राउतबीचको निर्णयगत टकराव पनि थपिएको छ ।
मधेश प्रदेशको राजनीतिक माहोल तातेसँगै नयाँ सरकार गठनको प्रक्रियामा अझै उथलपुथल जारी रहने देखिएको छ ।


