विराटनगर । आगामी फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन अब दुई दिन मात्रै बाँकी रहेको छ ।
कात्तिक ३० गतेसम्म मात्र मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकाले अन्तिम घडीमा नयाँ मतदाताहरू केन्द्रित हुँदा दर्ता केन्द्रहरुमा भिड लागेको छ ।
निर्वाचन आयोगका अनुसार पछिल्ला केही दिनयता दर्ता प्रक्रियामा उल्लेखनीय तीव्रता आएको छ। राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई प्रत्यक्ष रूपमा मतदाता नामावलीमा समावेश गर्न मिल्ने व्यवस्था लागू भएपछि दर्ता कार्य झन् सहज र छरितो बनेको आयोगले जनाएको छ ।
आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रमा रहेको विवरणका आधारमा पनि मतदाता नाम दर्ता गर्ने प्रणाली सुरु गरेको हो । राष्ट्रिय पञ्जीकरण विभागले परिचयपत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक आयोगलाई उपलब्ध गराएपछि यो प्रक्रिया सम्भव बनेको हो ।
राष्ट्रिय परिचयपत्र बनाएकाहरुले विभिन्न कारणले निर्वाचन कार्यालयमै उपस्थित हुन नसक्ने नागरिकलाई यसले विशेष सुविधा मिलेको आयोगले जनाएको छ। नयाँ प्रविधिले समय, स्रोत र पहुँचका अभावले दर्ता गर्न नपाएका मतदातालाई थप सहज बनाएको छ ।
आयोगले दर्ता कार्यलाई अझ प्रभावकारी बनाउन सबै कार्यालयलाई विशेष निर्देशन दिएको छ।
