सप्तरी । सप्तरीसँग जोडिएको नेपाल-भारत सीमा क्षेत्रबाट ६४९ सीमास्तम्भमध्ये ४७९ वटा हराएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको समन्वयमा राजविराजमा आयोजित “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम” मा यो तथ्याङ्क सार्वजनिक भएको हो।

सप्तरीको ७८ किलोमिटर लामो सीमानामा रहेका कुल ६४९ सीमास्तम्भमध्ये अहिले दशगजा क्षेत्रमा १७० वटा मात्र बाँकी छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीका गणपति प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिनुभयो कि हराएका धेरैजसो स्तम्भहरू भाँचिएका, बाढीले बगाएका वा पूर्ण रूपमा बेपत्ता भएका छन्। बाँकी रहेका केही स्तम्भहरू पनि जीर्ण अवस्थामा छन् र मर्मतको आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा सहभागी हनुमाननगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र बलान बिहुल गाउँपालिकालगायत सीमावर्ती पालिकाका प्रमुख तथा वडाध्यक्षहरूले हराएका सीमास्तम्भहरूको पुनर्निर्माणमा जोड दिएका छन्। उनीहरूले सीमा अपराध नियन्त्रण, चोरी तस्करी र लागुऔषध ओसारपसार नियन्त्रणका साथै लामो समयदेखि बन्द रहेका छोटी भन्सार कार्यालयहरू पुनः सञ्चालनमा ल्याउनुपर्ने माग पनि राखेका छन्।

सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार बमले सीमास्तम्भहरूको पुनर्निर्माण र मर्मतका लागि विभागमार्फत पहल थालिएको र यसको छिट्टै समाधान हुने बताए ।