विराटनगर। नेकपा (एमाले)को ११औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै पार्टीभित्रको एक प्रभावशाली पक्षले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता नदिए महाधिवेशनबाट अध्यक्षको विकल्प खोज्ने चेतावनी दिएको छ ।

अध्यक्ष ओलीले सञ्चालन गरेको ‘घर फर्क’ अभियानप्रति नै व्यङ्ग्य गर्दै उक्त पक्षले पार्टीले राजकीय जिम्मेवारीमा पठाएकी पूर्वउपाध्यक्ष भण्डारीलाई नै पार्टीमा फर्किन अवरोध गर्नु विरोधाभासपूर्ण भएको बताएको छ ।

एक अन्तर्वार्तामा पार्टीको आन्तरिक अवस्थाबारे धारणा राख्दै एमाले केन्द्रीय सदस्य युवराज बास्कोटाले भने, ‘हामी घरबाहिरिएकालाई घर फर्क भन्ने तर पार्टी योजनाअनुरुप राजकीय जिम्मेवारी सकेर फर्किन चाहने व्यक्तित्वलाई किन अवसर नदिने ? यो हाम्रो गम्भीर प्रश्न हो ।’

उनले अध्यक्ष ओलीको नेतृत्वमा पार्टी साँघुरिएको, अन्तरपार्टी लोकतन्त्र कुण्ठित भएको र कमिटी प्रणाली ‘देखाउने दाँत’ मात्र बनेको आरोप लगाए । ‘एकल नेतृत्व र सबथोक आफूमात्र ठान्ने प्रवृत्तिले पार्टीलाई रिटायर्ड कर्मचारी वा पुलिस क्लब जस्तो बनायो,’ उनले भने, ‘पार्टीभित्र कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गर्ने संस्थागत अभ्यासले कार्यकर्तामा गहिरो निराशा छाएको छ ।’

बास्कोटाले महाधिवेशनमा भण्डारीलाई सक्रिय भूमिकामा ल्याउन आफूहरू संगठित रूपमै लागेको तर मूल नेतृत्वले फराकिलो छाती नदेखाएको गुनासो गरे । उनले प्रस्ट शब्दमा भने, ‘हामी अझै पनि उहाँ (विद्या भण्डारी)लाई महाधिवेशनको मञ्चसम्म लैजाने उपाय खोजिरहेका छौँ । उहाँको सदाशयतालाई महाधिवेशन हलबाट अनुमोदन गराएर जिम्मेवारी दिइनुपर्छ ।’

यदि त्यसो हुन नसकेको खण्डमा अपनाइने रणनीतिबारे उनले भने, ‘भएन भने उहाँको प्रस्तावमा अर्को कुनै नेतृत्वलाई उभ्याउनुपर्ने स्थिति विकास हुन सक्छ । उठेका प्रश्नको उत्तर नदिई र अधुरा अभिभारा पूरा गर्न अर्को कुनै सुयोग्य पात्र अघि सार्छौं ।’ यसमा भण्डारीको पूर्ण साथ र सहयोग रहने उनको दाबी छ ।

अध्यक्ष ओलीको विकल्प किन खोजिएको भन्ने प्रश्नमा उनले पार्टी सञ्चालनका कैयौं कमजोरी औंल्याए । उनका अनुसार, जबजको अभिन्न अंग मानिएको अन्तरपार्टी लोकतन्त्र, लेनिनवादी संगठनात्मक सिद्धान्त, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थालाई केटाकेटीको भाँडाकुँटी खेल जस्तै बनाइयो ।

उनले थपे, ‘जेन–जी पुस्ताले उठाएको सुशासनको मुद्दामा पार्टीले जवाफ दिन सकेन । नेतृत्वमा रहँदा भएका कामको जस–अपजस लिन नसक्दा शंका र अविश्वास चुलियो । यी सबैको समाधान दिन नेतृत्वमा नवीनता चाहिएको हो ।’

अध्यक्ष ओलीले ‘महाधिवेशनमा म बोल्छु, सकिन्छ’ भनेको भन्ने चर्चाबारे टिप्पणी गर्दै बास्कोटाले महाधिवेशनलाई पूजा वा भोजभतेर जस्तो नठान्न आग्रह गरे । ‘कम्युनिष्ट पार्टीको महाधिवेशन राजनीतिक–वैचारिक मन्थन गर्ने, कामको समीक्षा गर्ने र नयाँ नेतृत्व खोज्ने थलो हो,’ उनले भने, ‘अध्यक्षले मात्र बोल्ने र अरूले सुन्ने कर्मकाण्ड हुन सक्दैन । त्यस्तो भएमा हामी चुप लागेर बस्दैनौं ।’