एजेन्सी । विश्वका देशहरुलाई अर्ति उपदेश दिइरहने अमेरिकालाई यस पटक चीनले गम्भिर आग्रह गरेको छ ।
विश्व शक्तिको दौडमा लम्किरहेको र कोरोना माहामारी फैलिएको विषयमा एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएकाबेला अमेरिकालाई चीनले अल्पसंख्यक माथिको विभेद अन्त्य गर्न र उनीहरुको अधिकार रक्षा गर्न आग्रह गरेको हो ।
केही दिनअगाडि अमेरिकामा एक जना काला जातिका पुरूषलाई प्रहरीले घुँडाले घाँटी थिचेर मारेपछि अहिले त्यहाँ देशभर प्रदर्शन भइरहेको छ। विभिन्न सहरमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारी त्यसलाई उल्लंघन गर्दै सडकमा निस्किएका छन्।
उनीहरूले राष्ट्रपतिको निवास र कार्यालय रहेको ह्वाइट हाउस वरपर प्रदर्शन गरिरहेका छन्। त्यति मात्रै होइन प्रदर्शनकारीले अमेरिकाको झण्डासमेत जलाएका छन् । त्यहाँ आन्दोलनको नाममा लुटपाट भइरहेको पनि समाचारहरु सार्वजनिक भइरहेको छ । कोरोनाको माहामारीले थिलोथिलो भएको अमेरिकाका लागि यो अर्को ठूलो संकट थपिएको छ ।
ह्वाइट हाउस वरपर प्रदर्शन बढ्दै गएपछि सेक्रेट एजेन्सीका अधिकारीहरूले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक घन्टा ह्वाइट हाउसभित्रकै बंकरमा लिएर राखेका थिए।
यसअघि हङकङमा भएको प्रजातन्त्र पक्षधरको प्रदर्शनलाई अमेरिकाले समर्थन गर्दै आएको थियो । चीनमा मानव अधिकारको हनन् हुने र सिन्जियाङका मुस्लिम अल्पसंख्यकमाथि कम्युनिष्ट पार्टीले दमन गर्ने गरेको अमेरिकाको आरोप हुने गर्थ्यो। बेइजिङले मानव अधिकारको रक्षा र अल्पसंख्यकलाई सरंक्षण गर्नुपर्ने उसको माग हुन्थ्यो।
यसपालि बेइजिङले वासिङ्टनलाई उसैको शैलीमा जवाफ दिएको छ।
सोमबार भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिआन झाओले अमेरिकालाई जातीय भेदभाव उन्मुलन गर्न र अल्पसंख्यकको कानुनसम्मत अधिकारको रक्षा गर्न आग्रह गरेका छन् ।
‘जर्ज फ्लोयडको मृत्युले अमेरिकामा जातीय भेदभाव र प्रहरी क्रुरता देखाउँछ,’ झाओले भनेका छन्।
उनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गर्दा हङकङको विशेष मान्यता हटाउनेलगायत कुरा गरे अमेरिकालाई कडा जवाफ फर्काउने चेतावनी पनि दिएका छन्।
यसअघि चिनियाँ मिडिया र विदेश मन्त्रालयका अधिकारीहरूले हङकङको प्रदर्शन हुँदा लोकतन्त्रको दुहाई दिने अमेरिकी राष्ट्रपति ट्रम्प अहिले लुकेर बंकरमा गएर बसेको भन्दै उडाएका छन्।
राष्ट्रवादी पत्रिका ग्लोबल टाइम्सका प्रधानसम्पादक हु सिजिनले हङहङमा हिंसात्मक प्रदर्शन हुँदा लोकतन्त्रका लागि देखिएको हेरिरहुँजस्तो दृश्य भन्ने अमेरिकीहरूले अहिले आफ्नै झ्यालबाट त्यस्तै दृश्य देखिरहेको बताएका छन्।
‘राष्ट्रपतिजी, सेक्रेट सर्भिसले घेरिएर बंकरमा लुक्न नजानुस्,’ उनले ट्वीटरमा लेखेका छन्, ‘जसरी तपाईं बेइजिङले हङकङका प्रदर्शनकारीसँग गर्नुपर्छ भन्नुहुन्थ्यो त्यसरी नै प्रदर्शनकारीसँग गम्भीरतापूर्वक वार्ता गर्नुस्।’