विराटनगर । कोशी प्रदेशसभा सचिवालयको काम कारबाही मोरङको कटहरीस्थित फलफूल तथा कृषि थोक बजारबाट सञ्चालन हुन थालेको छ ।

जेनजी आन्दोलनका क्रममा विराटनगरको देबकोटा चौकमा रहेको सचिवालय र सभाहल ध्वस्त पारिएकोले प्रदेशसभा सचिवालय बुधबारबाट फलफूल तथा कृषि थोक बजारमा सारिएको हो ।

कटहरीको नयाँ कार्यस्थलमा सभामुख, उपसभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ । अहिले सचिवालय व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ । सोही भवनमा अब प्रदेशसभाको बैठक बस्नेछ ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कृषि बजारको प्रशासनिक भवनमा सचिवालय र छुट्टै भवनमा प्रदेशसभा सञ्चालन गर्ने तयारी छ । यो भवन प्रदेशसभा सचिवालयका लागि अस्थायी रूपमा प्रयोग गरिने छ ।

कार्यालय व्यवस्थापन पूरा भएपछि मंसिर दोस्रो साताभित्र प्रदेशसभाको हिउँदे अधिवेशन सुरु गर्ने तयारी रहेको प्रदेश सरकारले जनाएको छ । भदौ २४ गते आन्दोलनको आडमा प्रदेशसभा भवनमा आगजनी गरिएपछि सचिवालयको संरचना र अभिलेखहरू नष्ट भएको छ ।

प्रदेशसभा सचिवालय परिसरमा आगजनी गर्दा सचिवालयका ९ वटा गाडी पनि जलेका थिए । यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि २ वटा सवारी साधन जलेको थियो । आगजनीमा प्रदेशसभाको कुनै पनि सामग्री सुरक्षित रहन सकेन । आगजनी र तोडफोडबाट बचेको प्रदेशसभाको फर्निचर तथा उपकरण लुटपाट भएको थियो ।

प्रदेशसभामा आगजनी भएपछि अहिले सचिवालय मिडिया सेन्टर रहेको कोठाबाट सञ्चालनमा थियो । अब भने तरकारी बजारबाट व्यवस्थित रुपमा सञ्चालन हुने प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजनाले कटहरीमा फलफूल तथा कृषि थोक बजार निर्माण गरेको थियो । तर, बजार सञ्चालन हुन नसकी उक्त संरचना प्रयोगविहिन रहेको बेला प्रदेशसभा सारिएको हो ।

तरकारी बजारका लागि कटहरी गाउँपालिका–१ जमटोकीमा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँमा संरचना बनाइएको थियो । बजारको २०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रदेश सरकारले बजार सञ्चालनको प्रयास गरेपनि नसकेपछि कटहरी गाउँपालिकालाई जिम्मा लगाइएको थियो ।