विर्तामोड । झापा प्रहरीले जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेर भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूमाथिको कार्वाही तीब्र बनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अनुसार सामाजिक सञ्जालमा प्राप्त विभिन्न भिडियो र तस्वीरका आधारमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान गर्दै धमाधम पक्राउ गरिएको छ ।
प्रहरीले हालसम्म २० जनालाई नियन्त्रणमा लिइसकेको छ । दमकबाट हातहतियारहरु लुटपाट गर्ने इलाम चुलाचुली गाउपालिका–३ पेल्टीमारीका १९ बर्षीय सुजल राई, दमक नगरपालिका–७ का १९ बर्षीय गणेश शर्मा पक्राउ परेका छन् । उनीहरुलाई हातहतियार तथा खरखजना र चोरी तथा डाँका सम्बन्धी कसुर अनुसन्धान सुरु गरिएको छ ।
यसैगरी कार्यालयमा ढुंगामुढा, तोडफोड, आगजनी गर्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भई दमक नगरपालिका–१ बस्ने २१ बर्षीय साजन लुहागुन, दमक–३ का १९ बर्षीय रियाज सिलवाल, इलाम चुलाचुली–३ का २२ बर्षीय नकुल अधिकारी, दमक–१ का ३४ बर्षीय दिपचन महतो, दमक–६ का २४ बर्षीय लोमस कटुवाल पनि प्रहरी हिरासतमा छन् । उनीहरुमाििथ आपराधिक उपद्रव सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी सुरक्षा वेश क्याम्पमा रहेको सशस्त्र प्रहरी बलको राईफल लुटपाटमा संलग्न पाँचथर फाल्गुनन्द गाउँपालिका–७ घर भई दमक–३ बस्ने १७ वर्षीय आदित्य लिम्बू पनि पक्राउ परेका छन् । उनीमाथि हातहतियार खरखजना सम्बन्धि कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी झापा कन्काई नगपालिका–३ स्थित रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाको कार्यालय भवन, साना ठुला सवारी साधन, सञ्चार सेट तोडफोड तथा आगजनी गर्ने झापा शिवसताक्षि नगरपालिका–१० का ३१ बर्षीय सञ्जय बस्नेत, २५ वर्षीय कुशल तिम्सिना र कन्काई नगरपालिका–३ बस्ने २५ बर्षीय बिष्णु विश्वकर्मालाई पक्राउ गरिएको छ । उनीहरुमाथि पनि अपराधिक उपद्रव कसुरमा थप अनुसन्धान सुरु गरिएको छ ।
झापाको बाह्रदशी गाउँपालिका–४ चकचकीकी २७ वर्षीया इस्रप खातुन र बिर्तामोड–२ रामचोकका २२ वर्षीय विकास टुडु पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले ५४ थान गोली बरामद गरेको जनाएको छ।
यस्तै प्रहरी कर्मचारीलाई ज्यान मार्ने उद्देश्यले बाँसमा डोरीले बाँधेर विभिन्न स्थानामा घुमाउने व्यक्तिहरु समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का २२ बर्षीय राजन चौधरी, २० वर्षीय आयुस धिमाल, कनकाई नगरपालिका–१ का ४२ वर्षीय गोपाल संग्रौला, अर्जुनधारा–७ कि २४ वर्षीया पुजा मगर, २८ वर्षीय सुरज मगर र सुनसरी हरिनगर–१ का २२ वर्षीय साहिल अन्सारी छन् । यसैगरी विर्तामोड नगरपालिका–५ का २६ बर्षीय नवराज राईलाई पनि पक्राउ गरि अपराधिक उपद्रह र ज्यान मार्ने उद्योगमा कारवाही तथा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हालसम्म पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव, हतियार लुटपाट र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। आन्दोलनको नाममा अपराधिक गतिबिधि गर्नेमाथि कार्वाही चलाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनीबाट झापाका १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । तीमध्ये १२ स्थानीय तहका भवन, ५५ वडा कार्यालय, १० संघीय कार्यालय, ३ प्रादेशिक कार्यालय, ३७ निजी घर, २ व्यावसायिक भवन, १० प्रहरी चौकी, १ सार्वजनिक भवन र १ विद्यालय भवन रहेका छन्।
दमकस्थित राजनीतिक दलका कार्यालय र अन्य संरचनामा पनि ठूलो क्षति पुगेको छ। आन्दोलनका क्रममा लुटिएका ९९ थान हतियारमध्ये ७७ थान फिर्ता भइसकेका छन् भने २२ थान अझै फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले तोडफोड, आगजनी र लुटपाटमा संलग्न अन्य अभियुक्तहरूको खोजी तीव्र बनाएको जनाएको छ। सिसीटीभी फुटेज र सामाजिक सञ्जालका आधारमा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको प्रहरीको भनाइ छ ।
आन्दोलनको नाममा झापाका इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय सुरुङ्गा र इलाका प्रहरी कार्यालय दमकमा आगजनी र तोडफोड गर्दै हातहतियार तथा प्रहरीको पोशाक लुटिएको थियो ।
