विराटनगर । जेनजी आन्दोलन सकिएको केही दिन पछि काठमाडौंमा पत्रकार सम्मेलनमार्फत दिएको एक प्रखर भाषणमार्फत एकाएक चर्चामा आएका युवा अगुवा प्रवेश दाहालले तत्काल आफू चुनावी राजनीतिमा नआउने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा ‘दोस्रो मदन भण्डारी’को उपमा पाएका दाहालले आफ्नो ध्यान तत्कालको चुनावभन्दा आन्दोलनका एजेन्डा संस्थागत गर्ने र नीतिगत सुधारमा केन्द्रित रहेको बताएका छन् ।

जेनजी आन्दोलनले जन्माएको एक सशक्त युवा आवाजको रूपमा स्थापित दाहालले देशको शासकीय स्वरूप, निर्वाचन प्रणाली र प्रदेश संरचनाबारे आफ्नो धारणा राख्दै उनले अहिलेको व्यवस्थामा सुधारको आवश्यकता औंल्याएका छन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको चर्चा चलिरहँदा दाहालले भने आफू चुनावी दौडमा सामेल नहुने बताए । उमेरका कारण पनि कानुनी रूपमा उमेदवार बन्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘अहिले तत्कालका लागि राजनीतिमा प्रवेश गरिहाल्ने अवस्था देखिएको छैन । मेरो उमेरले पनि साथ दिएको छैन, म २१ वर्षको भएँ । उमेदवार बन्नका लागि मेरो उमेर पुगेको छैन ।’

उनले आफ्नो रुचि चुनाव लड्नुभन्दा शहीद परिवार र घाइतेहरूको सपना पूरा गर्ने तथा आन्दोलनले उठाएका मुद्दाहरूलाई संस्थागत गर्नमा रहेको प्रस्ट पारे । उनले थपे, ‘मेरो ध्यान नयाँ अनुहारहरूलाई सघाउनमा हुनेछ । यो समाजमा भएका बेथिति, भ्रष्टाचार र अन्यायका निम्ति हाम्रो आवाज निरन्तर उठिरहन्छ ।’

दाहालले देशले संघीयताको आर्थिक भार थेग्न नसकेको भन्दै प्रदेश संरचनामा आमूल परिवर्तनको वकालत गरेका छन् । ‘हाम्रो धारणा प्रदेश खारेज नै हो, तर यदि त्यो सम्भव नभए प्रदेशको संरचनालाई मिलाएर यसको आर्थिक भार तत्काल घटाउनुपर्छ,’ उनले भने, ‘प्रदेश सभाका सांसदहरूको संख्या घटाएर प्रदेश परिषद बनाउन सकिन्छ अथवा सांसदहरूलाई तलब नदिई बैठक भत्ता मात्र दिने व्यवस्था गर्न सकिन्छ ।’

त्यसैगरी, उनले हालको संसदीय प्रणाली अस्थिरताको कारक बनेको भन्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्नेमा जोड दिए । निर्वाचन प्रणालीमा सुधारको माग गर्दै उनले विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताले पनि भोट हाल्न पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए । ‘मोरङको मतदाताले कामको सिलसिलामा काठमाडौंबाटै आफ्नो क्षेत्रको उमेदवारलाई भोट हाल्न पाउनुपर्छ, यो हाम्रो मुख्य माग हो,’ उनले भने ।

आफूलाई दिइएको ‘दोस्रो मदन भण्डारी’ उपमाबारे बोल्दै उनले मदन भण्डारीलाई जनताको आवाज उठाउने नेताको रूपमा सम्मान गर्ने बताए । ‘मदन भण्डारीप्रति प्रेरित भन्दा पनि उहाँका विचारहरू मनपर्छ,’ दाहालले भने, ‘उहाँको जनताको बहुदलीय जनवादको छुट्टै भिजन थियो, तर अहिले उहाँको नाम बेचेर पार्टी चलाउने काम भइरहेको छ ।’

जेनजी आन्दोलनकै बलमा बनेको सरकारले आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ गरिरहेकोप्रति उनले गम्भीर असन्तुष्टि जनाए । ‘यो गलत हो । भिडियो फुटेजको आधारमा मात्रै पक्राउ गर्नु हुँदैन,’ उनले भने, ‘घटनाको छानबिन गर्न बनेको आयोगले सत्यतथ्य बाहिर नल्याउँदासम्म कसैलाई दोषी मान्न मिल्दैन । आवेशमा आएर भएका घटना र पूर्व–योजनासहित गरिएको हिंसामा फरक हुन्छ, त्यसलाई आयोगले छुट्याउनुपर्छ ।’