विराटनगर । नेपाल औषधी व्यवसायी संघ, मोरङले औषधी व्यवस्था विभागको अनुगमन शैलीप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ। विभागले अनुगमनका नाममा व्यवसायीहरूलाई त्रसित बनाउने र अनावश्यक दुःख दिने काम गरेको भन्दै संघले बुधबार विराटनगरमा व्यवसायीहरूसँग अन्तरक्रिया समेत गरेको छ।
संघका मोरङ जिल्ला अध्यक्ष देशबन्धु ढकालले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कटेललाई ध्यानाकर्षण पत्र बुझाउँदै विभागको पछिल्लो कदमले व्यवसायीहरूको मनोबल गिराएको बताए । ध्यानाकर्षण पत्रमा विभागको विराटनगर शाखाले सामान्य त्रुटि हुँदा वा व्यवसायीहरू जरुरी कामले केही समय पसल बाहिर निस्कँदा समेत औषधी पसल नै सिल गरी महिनौँसम्म दण्डित गर्ने गरेको उल्लेख गरिएको छ।
‘हामी व्यवसायीलाई मर्यादित बनाउन विभागले गर्ने नियमनको स्वागत गर्छौँ, तर अनुगमनका नाममा विभिन्न बहाना बनाएर व्यवसायीलाई आतंकित पार्ने, चरित्रहत्या गर्ने र विस्थापित नै गर्ने गरी भएका कार्यहरू हामीलाई स्वीकार्य छैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
अध्यक्ष ढकालका अनुसार वर्षौंदेखिको लगानी जोखिममा परेपछि व्यवसायीहरू आन्दोलित हुनुपरेको हो। संघले विभागको यस्तो कार्य नरोकिए जस्तोसुकै कडा कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएको छ।

ध्यानाकर्षण पत्रमार्फत संघले प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा तत्काल पहलकदमी लिन आग्रह गरेको छ। औषधी व्यवस्था विभाग र व्यवसायीबीच वार्ता र संवाद गराई भयकरहित वातावरणमा व्यवसाय सञ्चालन गर्ने वातावरण तयार पारिदिन संघले माग गरेको छ।
बुधबार संघको भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न औषधी व्यवसायीहरूको सहभागिता रहेको थियो, जहाँ उनीहरूले अनुगमनका क्रममा भोग्नुपरेका व्यावहारिक समस्याहरूका बारेमा छलफल गरेका थिए।







प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।