विराटनगर ।झापाको भद्रपुरमा एक वृद्धको बीभत्स हत्यामा संलग्न व्यक्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) का विद्यार्थी भएको पुष्टि भएको छ । बिहीबार साँझ भद्रपुर नगरपालिका वडा नं. १० त्रिवेणी टोलका ६६ वर्षीय खेमराज ढकालको सिरिन्ज प्रहार गरी हत्या भएको थियो ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाको विष्णुपुर गाउँपालिका वडा नं. १ घर भई हाल बीपी प्रतिष्ठानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २६ वर्षीय दिपेश कुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काका अनुसार बिहीबार साँझ करिब ६ :२० बजेको समयमा ढकाल आफ्नै घरमा परिवारसँग बसिरहेका थिए । सोही समयमा अचानक सिंहले आफूसँगै बोकेको र केमिकल भरिएको सिरिन्जले ढकालको घाँटीमा प्रहार गरेका थिए ।
सिरिन्ज प्रहारबाट गम्भीर घाइते भएका ढकाललाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई अस्पताल पुर्याउनासाथ मृत घोषणा गरेका थिए । सिरिन्जमा प्रयोग गरिएको तरल पदार्थमा कुन घातक तत्व मिसाइएको थियो भन्नेबारे ल्याब परीक्षण पछि मात्रै खुल्ने डीएसपी खड्काले बताए ।
प्रहरी अनुसन्धानका क्रममा अभियुक्त सिंहले योजनाबद्ध रूपमा हत्या गरेको देखिएको छ । सिंह सोही दिन बिहान पनि ढकालको घर पुगेका थिए । उनले ‘मलाई अवकाश प्राप्त शिक्षक चाहिएको छ, खोजिदिनुपर्यो’ भन्दै बहाना बनाएर ढकालको घर र उनी बस्ने स्थानको पहिचान गरेको खुलेको छ ।
मृतक ढकालकी छोरी पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन् । अभियुक्त सिंह र मृतककी छोरीबीच सामान्य चिनजान रहे पनि विगत ८–९ महिनादेखि उनीहरूबीच विवाद रहेको पाइएको छ ।
पीडित परिवारका अनुसार ८–९ महिनाअघि सिंहले ढकालकी छोरीको फोटो सम्पादन (इडिट) गरी बदनाम गर्ने नियतले पठाउने र मानसिक तनाव दिने गरेका थिए । सो घटनालाई लिएर पीडित पक्षले इलाका प्रहरी कार्यालय धरानमा सिंहविरुद्ध उजुरी समेत दर्ता गराएका थिए । सोही पुरानो रिसइबी र बदला लिने उद्देश्यले सिंहले बुवाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
घटनालगत्तै खटिएको जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सिंहलाई नियन्त्रणमा लिई विस्तृत अनुसन्धान सुरु गरेको छ । उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को ‘ज्यान सम्बन्धी कसूर’ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । राति नै पक्राउ परेका सिंहलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।