संखुवासभा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संखुवासभाका ग्रामीण तथा संवेदनशील क्षेत्रहरूमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ ।
निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले जिल्लाका ग्रामीण क्षेत्रका विभिन्न स्थानमा बेस स्थापना गरेर बुधबारबाट नियमित गस्ती सुरु गरेको छ ।
बुधबारदेखि नेपाली सेनाको इन्द्रदल गुल्मले १० वटै स्थानीय तहमा परिचालन गरेर नियमित गस्ती गरेको हो । सरकारको निर्णयअनुसार जिल्लाका विभिन्न भेगमा सेना परिचालन गरिएको गुल्मले जनाएको छ ।
निर्वाचन अवधिभर नेपाली सेना बाहिरी सुरक्षा घेरामा रहनेछ । आवश्यकताअनुसार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीसमेत जिल्लाभर परिचालन गरिनेछ । चारवटै सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा व्यवस्था चुस्त बनाइने योजना रहेको छ ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार निर्वाचनलाई लक्षित गर्दै अवस्था हेरी सुरक्षा निकाय परिचालन गरिनेछ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको उनले बताइन् ।
सुरक्षा निकायको सक्रियतासँगै जिल्लावासीले सुरक्षित र भयरहित वातावरणमा मतदान गर्न पाउने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।