धरान । धरान खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णरूपमा डिजिटलाइज गरिएको छ । बोर्डले सोमबार मोबाइल एप र वेबसाइट सार्वजनिक गर्दै अनलाइन सेवा औपचारिक रूपमा सुरु गरेको हो ।
अब उपभोक्ताले खानेपानीसम्बन्धी अधिकांश सेवा घरमै बसेर वा जहाँबाट पनि लिन सक्नेछन् । बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले सञ्चारकर्मीहरूको उपस्थितिमा डिजिटल प्रणालीको शुभारम्भ गर्दै सेवाग्राहीलाई सजिलो, छिटो र पारदर्शी सेवा दिने उद्देश्यले बोर्डलाई प्रविधियुक्त बनाइएको बताए ।
बेघाका अनुसार खानेपानी बिल हेर्न र अनलाइन भुक्तानी गर्न, नयाँ धारा जडानका लागि निवेदन दिन, व्यक्तिगत विवरण हेर्न तथा प्रशासनिक प्रक्रियाका लागि अब कार्यालय धाउनुपर्ने अवस्था हटेको छ । अध्यक्ष बेघालेले मोबाइलको एप स्टोरबाट ‘धरान खानेपानी’ एप डाउनलोड गरी उपभोक्ताले आफूले प्रयोग गरेको पानीको विवरण, तिरेको रकम, बोर्डका सूचना र समाचारसमेत हेर्न सक्ने जानकारी दिए ।
मिटर बिग्रिएको, पानी चुहावट भएको वा सेवा प्रवाहमा समस्या आएमा एप र वेबसाइटमार्फतै जानकारी गराउन सकिनेछ । बोर्डका सम्पूर्ण सूचना अब वेबसाइटमार्फत सार्वजनिक र पारदर्शी रूपमा उपलब्ध गराइने पनि बेघाले जानकारी दिए ।
खानेपानी बोर्डको अडिट सुरुवातदेखि नै हुन नसकेको विषय पनि सार्वजनिक गरिएको थियो । पत्रकारहरूको जिज्ञासामा बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बोर्ड गठन भएदेखि आर्थिक कारोबार सुरु भएको समयसम्मको अडिट हुन नसकेको स्पष्ट पारे । उनका अनुसार २०७२ सालमा बोर्ड गठन भए पनि २०७४ पछि मात्र आर्थिक कारोबार सुरु भएको थियो, तर अहिलेसम्म अडिट हुन सकेको छैन ।
नवगठित बोर्डले निर्णय गरेर सुरुदेखि हालसम्मकै अडिट गर्ने तयारी थालेको पोखरेलले बताए । बोर्ड अध्यक्ष बेघाले पनि लेखा प्रणालीलाई पूर्ण पारदर्शी बनाउन डिजिटलाइज गरिएको र आवश्यक ऐन, नियम तथा कानुन निर्माणको प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
चाँडै खानेपानी बोर्डको अडिट गराई प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै बेघाले अब बोर्डका सबै आम्दानी–खर्च वेबसाइटमार्फत सार्वजनिक गरिने बताए ।
पूर्वअध्यक्ष हर्क साम्पाङको नेतृत्वमा सञ्चालन भएको कोकाह भाग १ र २, पकुवा, निशाने तथा भालु खोला आयोजनाको आय–व्यय अडिटबारे सोधिएको प्रश्नमा बेघाले नागरिकस्तरबाट रकम संकलन र लगानी भएकाले त्यसको हिसाबकिताब खानेपानी बोर्डसँग नरहेको स्पष्ट पारे । बोर्डले ती आयोजनाबाट आएको पानी पिउनयोग्य भएकाले मात्र वितरण गरिरहेको जानकारी दिँदै उनले आर्थिक हिसाबकिताब सम्बन्धित पक्षबाटै सार्वजनिक हुने बताए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।