लोड हुँदैछ...

मेनु

धरानमा हुने २६औँ बुढासुब्बा गोल्डकप बिहीबारदेखि

धरानमा हुने २६औँ बुढासुब्बा गोल्डकप बिहीबारदेखि

धरान । सुनसरीको धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

धरान फुटबल क्लबको आयोजनामा माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

आयोजक क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक धरान फुटबल क्लब र भारतको जर्जियन फुटबल क्लबबीच हुनेछ । माघ २३ गते रोयल थिम्पु फुटबल क्लब ९भुटान० र झापा–११ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ भने माघ २४ गते प्लानिङ ब्वाइज युनाइटेड र न्यू रोड टिम आमनेसामने हुनेछन् । माघ २५ गते नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने तालिका रहेको छ ।

त्यसैगरी माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने माघ २७ गते झापा–११ र रोयल थिम्पुबीचको खेलको विजेतासँग सातदोबाटो युथ क्लबले खेल्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुनेछ ।

गत वर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यस वर्ष नेपाल र विदेशका गरी १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कार दिइनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिताले धरानको खेल पर्यटन प्रवर्द्धनसँगै नेपाली फुटबलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds