लोड हुँदैछ...

मेनु

चुनाब नजिकिएसँगै ताप्लेजुङमा केबलकार विरोधी आन्दोलन सुरु

चुनाब नजिकिएसँगै ताप्लेजुङमा केबलकार विरोधी आन्दोलन सुरु

ताप्लेजुङ । निर्वाचनको मिति नजिकिँदै जाँदा पाथीभरा केबलकार निर्माणविरुद्धको आन्दोलन पुनः चर्किएको छ।

पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा विरोध प्रदर्शन गरिएको छ।

केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनअन्तर्गत र्‍यालीसहित नगर परिक्रमा गरी सदरमुकाम प्रवेशद्वार तोक्मेडाँडामा कोणसभा गरिएको हो। विरोध सभालाई किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष एवं पहिचानवादी नेता डकेन्द्र सिं थेगिम, चर्चित गायिका झुमा लिम्बू, संयुक्त संघर्ष समिति अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूलगायतले सम्बोधन गरेका थिए। वक्ताहरूले पाथीभराको धार्मिक, सांस्कृतिक र पहिचानसँग जोडिएको भूगोलमा केबलकार कुनै पनि हालतमा स्वीकार्य नहुने अडान दोहोर्‍याए।

तोक्मेडाँडाबाट सुरु भएको र्‍याली दोबाटो, पुरानो कोप्चे, वीरेन्द्रचोक र पुरानो बैंक लाइन हुँदै फाल्गुनन्द चोक पुगेर कोणसभामा परिणत भएको थियो। आन्दोलनका क्रममा तोक्मे क्षेत्रमा विरोध जनाउँदै भित्तेलेखनसमेत गरिएको छ। संघर्ष समिति अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले निर्वाचन आचारसंहिता र शान्ति सुरक्षालाई ध्यानमा राख्दै शान्तिपूर्ण रूपमा आन्दोलन अघि बढाइएको बताए। केबलकार निर्माण खारेजी नै आन्दोलनको एक मात्र माग भएको उनको भनाइ छ।

संयुक्त संघर्ष समितिका अनुसार आन्दोलनका आगामी कार्यक्रमअन्तर्गत शनिबार यसअघि पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएकाहरूलाई सम्मान गरिनेछ । आइतबार पाथीभरा क्षेत्रमा धार्मिक–सांस्कृतिक कार्यक्रमका रूपमा धागो टाग्ने कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ। यसअघि नै ‘नो केबलकार’ अभियान घोषणा गर्दै पूर्वी नेपालका विभिन्न जिल्ला र मुख्य सहरमा कोणसभा गरिएको थियो।

आन्दोलनका क्रममा हुनसक्ने सम्भावित गतिविधिलाई मध्यनजर गर्दै प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उल्लेख्य संख्यामा परिचालन गरेको छ। सदरमुकाम क्षेत्रमा सेना समेतको संयुक्त गस्ती गराइएको जिल्ला प्रशासनले जनाएको छ।

संघर्ष समितिले पाथीभरा केबलकार निर्माण र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुमलुङ संरक्षणको क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका विषयलाई निर्वाचनको मुख्य एजेण्डा बनाउँदै माघ मसान्तसम्म गाउँबस्ती अभियान सञ्चालन गर्ने जनाएको छ। चुनाव नजिकिँदै जाँदा केबलकार विरोधी आन्दोलन पुनः सक्रिय बन्दा ताप्लेजुङको राजनीतिक र सामाजिक माहोल थप तातिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds