लोड हुँदैछ...

मेनु

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको छ । जसका कारण देशका विभिन्न भागको मौसममा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली रहेको छ । अहिले बागमती प्रदेशका केही स्थानहरू र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज बिहीबार दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने देखिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

हिमपात, वर्षा र हुस्सुका कारण चिसो बढ्न सक्ने र यसले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटनका साथै हवाई तथा सडक यातायातमा समेत प्रभाव पार्न सक्ने देखिएको छ । मौसममा आएको यो परिवर्तनका कारण हुन सक्ने जोखिमबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds