धरान । सुनसरीको धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले कोशी प्रदेश सरकारको अनुदानमा चारकोशे जंगल क्षेत्रमा निर्माण गरिएका तीन वटा डिप बोरिङ धरान खानेपानी बोर्डमार्फत सञ्चालन गरिने जानकारी दिएका छन्।
कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकालाई ती डिप बोरिङ हस्तान्तरण गरेपनि निवर्तमान प्रमुख हर्क साम्पाङले सञ्चालन रोकेका थिए।
निर्माण सम्पन्न भएका बोरिङको अनुगमनपछि कार्यवाहक प्रमुख बेघाले तीनै वटा डिप बोरिङ सञ्चालन गर्ने बताएका हुन् । बेघाका अनुसार तीनमध्ये एक डिप बोरिङ तत्काल सञ्चालनयोग्य छ भने बाँकी दुई वटामा बुस्टर पम्प जडान गर्न करिब १५ दिन लाग्नेछ । बुस्टर पम्प जडान सम्पन्न भएपछि करिब २० दिनभित्र तीन वटै डिप बोरिङको पानी धरानका जनताको घर–घरमा पुग्नेछ ।
डिप बोरिङको कुल उत्पादन क्षमता दैनिक करिब ६० लाख लिटर रहेको छ । हालको सुख्खायाममा भने ४० देखि ५० लाख लिटर पानी उत्पादन हुने प्राविधिकहरूको भनाइ छ । बोरिङबाट निस्केको पानी गुणस्तरीय र पिउनयोग्य रहेको बेघाले जानकारी दिए ।
परियोजना सफल बनाउन पूर्वमन्त्री, प्रदेश सांसद तथा स्थानीय सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले सबैलाई धन्यवाद व्यक्त गरे । खानेपानीको विषयमा कुनै पनि प्रकारको गडबडी सह्य नहुने बताउँदै बेघाले विगतका प्राविधिक तथा व्यक्तिगत विवादलाई छाडेर जनताको तिर्खा मेटाउन इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए।
धरान १७ नम्बर वडाको कुम्भी याल चोकमा रहेको डिप बोरिङ तत्काल सञ्चालनमा ल्याइनेछ भने बाँकी दुई वटामा बुस्टर पम्प जडानको काम बाँकी छ। कोशी प्रदेश सांसद रमेश बस्नेतले यी तीन वटा डिप बोरिङ प्रदेश सरकारले तत्कालीन राहत स्वरूप धरानवासीको पानी अभाव टार्ने उद्देश्यले निर्माण गरेको बताए ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ मा तीन वटा डिप बोरिङ निर्माणका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। ठेक्कामार्फत १ करोड ५१ लाख ४५ हजार ९०९ रुपैयाँमा निर्माण कार्य सम्पन्न गरिएको हो।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।