लोहन्द्रा खोला तटबन्ध निर्माण कार्यको शुभारम्भ

लोहन्द्रा खोला तटबन्ध निर्माण कार्यको शुभारम्भ

बेलबारी । बर्सेनि वर्षायाममा लोहन्द्रा खोलाले कटान गरी बस्ती र पूर्वाधारमा पुर्‍याउँदै आएको क्षति रोक्न बेलबारी नगरपालिकामा तटबन्ध निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको छ। लामो समयदेखिको स्थानीय बासिन्दाको माग र जोखिमलाई मध्यनजर गर्दै आज देखि बेलबारी नगरपालिका वडा नम्बर २ स्थित नाजरिन चर्चदेखि उत्तरतर्फबाट निर्माण कार्य थालिएको हो।

स्थानीय समुदाय, राजनीतिक नेतृत्व र बेलबारी नगरपालिकाको निरन्तरको प्रयासपछि यो योजना कार्यान्वयनमा आएको हो। नेपाल सरकारको उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको ‘सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना, विराटनगर’ को लगानीमा यो परियोजना अघि बढेको हो।

तटबन्ध निर्माणको जिम्मा काठमाडौँको तारकेश्वरस्थित निर्माण व्यवसायी ‘डीसीई–एससी –बीएनएस जेभी’ ले पाएको छ। यो परियोजना अन्तर्गत बेलबारी–२ को नाजरिन चर्चको उत्तर क्षेत्र तथा बेलबारी–१ को बानडाँडा र बसपार्कको उत्तर क्षेत्रमा तटबन्ध निर्माण गरिनेछ। यसले खोलाको कटान नियन्त्रण गरी बस्ती र स्थानीय पूर्वाधारको सुरक्षा गर्ने अपेक्षा गरिएको छ।

तटबन्ध निर्माण शुभारम्भ कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र उपप्रमुख नितु थापा कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा वडा नं.१ का वडा प्रतिनिधि चन्द्रप्रकाश बस्नेत, वडा नं. २ का प्रतिनिधिहरू दीपक लिम्बू र मन्जु रिजाल, पूर्व वडा अध्यक्ष घनश्याम गौतम, नेपाली कांग्रेस वडा नं. १ का सभापति बाबुराम श्रेष्ठ, वडा नं. २ का सचिव लोकेन्द्र ढकाल तथा वडा नं. ३ का सभापति रिक्त बहादुर गुरुङ लगायतका जनप्रतिनिधि र राजनीतिक व्यक्तित्वहरूको उपस्थिति थियो ।

त्यस्तै, शान्ति टोल विकास संस्थाका अध्यक्ष गिरिनाथ दाहाल, सचिव ऋषिराम न्यौपाने, सिसौली टोल विकास संस्थाका अध्यक्ष भक्त बहादुर गुरुङ, रत्नमार्ग टोल विकास संस्थाका अध्यक्ष अजित धिमाल, रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्र ओझा, पूर्व अध्यक्ष प्रेम राई, सहसचिव शान्त बहादुर सुनार तथा स्थानीय अग्रज हेमबहादुर गिरी लगायतको सहभागिताले कार्यक्रममा उत्साह थपेको थियो।

स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले यो परियोजनालाई ‘बेलबारीको दीर्घकालीन सुरक्षित भविष्यतर्फको निर्णायक कदम’भन्दै स्वागत गरेका छन्। तटबन्ध निर्माणसँगै वर्षौंदेखि लोहन्द्रा खोलाको त्रासमा बाँच्नुपर्ने बाध्यता हट्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्