विराटनगर । राजनीतिमा ‘पुराना दलको विकल्प’ र ‘नयाँ शक्ति’ बन्ने होडबाजीले अहिले रोचक तर भद्दा रूप लिएको छ । सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको नारा दिएर उदाएका दुई शक्ति– धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ र अन्तरिम चुनावी सरकारका मन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’– बीचको सम्बन्ध अहिले ‘स्याल हुइँया’ जस्तै देखिएको छ । बाहिर हेर्दा फरक–फरक झण्डा बोके पनि भित्री रूपमा यी दुवै शक्ति एउटै ‘भोट बैंक’ मा लुछाचुँडी गरिरहेका छन् । व्यवहारतः कोशी प्रदेशको राजनीति अहिले ‘अघि–अघि हर्क साम्पाङ, पछि–पछि तिनै मतदाता फकाउँदै कुलमान घिसिङ’ को नियतिमा फसेको प्रस्ट देखिन्छ ।
हर्क साम्पाङले आफ्नो आक्रामक शैली र श्रम संस्कृतिको नाराले जुन जनमत विशेषगरी पहिचानवादी र पुराना दलबाट वितृष्णा जागेका समुदायलाई आकर्षित गरेका थिए, अहिले कुलमान घिसिङको पार्टी तिनै बस्ती र तिनै अनुहारहरूलाई आफ्नो कित्तामा पार्न तल्लीन देखिएको छ ।
इलाम–२ को उपनिर्वाचनको तुस अहिले छताछुल्ल भएको छ । हर्क साम्पाङले सामाजिक सञ्जालमा ‘म इलाम नगएको भए डकेन्द्रको २०० भोट पनि कट्दैन थियो’ भन्दै १२ हजार मतको सम्पूर्ण जस आफूले लिन खोजेका छन् । इलामको उपनिर्वाचनमा डकेन्द्र सिंह थेगिमले उम्मेदार थिए । उप र्निाचनमा एमालेका सुहाङ नेम्बाङले २७,७७२ मत ल्याएका थिए भने थेगिमले ११ हजार ४५७ मत मात्रै ल्याएका थिए ।
थेगिमले साम्पाङको यो दाबीलाई ‘राजनीतिक अपरिपक्वता र चरम दम्भ’ को संज्ञा दिएका छन् । नेता थेगिमले साम्पाङको दाबीलाई ठाडै अस्वीकार गर्दै भनेका छन्, ‘झन्डै १२ हजार मत मेरो कारणले आयो भन्नु उहाँको दम्भ मात्रै हो । मसँग ४१ वटा घटकको समर्थन थियो, डा. बाबुराम भट्टराईदेखि स्वागत नेपालसम्मको साथ थियो । दुई–चार ठाउँमा भाषण गर्दैमा सबै भोट आफ्नै कारणले आएको ठान्नु हर्कजीको ठूलो भूल हो ।’ उनले साम्पाङको सामाजिक सञ्जाल मोह र बोलीमा लगाम नभएको भन्दै कडा टिप्पणी समेत गरेका छन् । सानो कुरालाई पनि बढाइचढाइ गर्ने, जे पनि फेसबुकमा लेखिहाल्ने र आफूलाई नै केन्द्रमा राख्ने साम्पाङको बानीले आम मानिस र शुभेच्छुकहरू उनीसँग ‘वाक्क–दिक्क’ भइसकेको थेगिमको विश्लेषण छ । स्वतन्त्र मेयरको रूपमा कोशी खानेपानी आयोजनामा सहयोग पु¥याएको भन्दै आफूले सम्मान गरेर इलाम बोलाएको भए पनि साम्पाङले त्यसलाई आफ्नो लोकप्रियताको मापन बनाएर दम्भ देखाएकोमा थेगिमले असन्तुष्टि पोखेका छन् ।
थेगिमले एमाले, कांग्रेस र माओवादीबाट वितृष्णा जागेका मतदाता र पहिचानवादी शक्ति नै आफूहरूको मुख्य आधार भएको बुझेका छन् । ‘अरू पार्टीहरू त ठीकठिकै छन्, तर पूर्वमा हर्कजीको श्रम शक्ति र कुलमानजीको उज्यालो नेपाल पार्टीबीच सहकार्य हुनु अनिवार्य छ,’ थेगिमले भने
मैदानमा हेर्दा पनि अवस्था त्यस्तै छ । श्रम संस्कृति पार्टीका नेताहरू उज्यालो नेपाल पार्टीले आफूहरूले खनजोत गरेको जमिनमा आँखा लगाएको आरोप लगाउँछन् । श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य शान्ति पाख्रिन लामाका अनुसार, उज्यालो नेपाल पार्टीले तिनै आदिवासी जनजाति कार्यकर्तालाई तारो बनाएको छ । जसलाई हर्क साम्पाङले संगठित गरेका थिए । ‘कुलमानजीलाई यहाँका केही पहिचानवादी नेताले प्रयोग मात्र गरिरहेका छन्, हाम्रो जनाधार चोर्ने प्रयास भइरहेको छ,’ लामाले भनिन् । कोशीमा नयाँ शक्तिहरू जनताको एजेन्डाभन्दा पनि कार्यकर्ता तानातानको पुरानै संसदीय खेलमा फसेका छन् ।
‘सिस्टम’ बसाल्ने र सुशासन ल्याउने भन्दै राजनीतिमा होमिएका कुलमान घिसिङको नैतिकतामाथि गम्भीर संवैधानिक र नैतिक प्रश्न उठेको छ । अन्तरिम चुनावी सरकारको बहालवाला मन्त्री रहेकै अवस्थामा दल खोल्ने र उम्मेदवारी दिने घिसिङको तयारीलाई संविधानविद्हरूले ‘सुशासन र सु–निर्वाचन’ को धज्जी उडाउने खेल भनेका छन् । संविधानविद् भीमार्जुन आचार्यले यो प्रवृत्तिलाई कडा शब्दमा आलोचना गरेका छन् । आचार्यका अनुसार, ‘जो आफैंमा निर्वाचन सरकार हो, त्यस्तो सरकारका मन्त्री वा प्रधानमन्त्री नै झन्डा हल्लाउँदै पदसहित निर्वाचनमा उठ्ने हो भने सरकारले भन्ने गरेको सुशासन र सु–निर्वाचन कहाँ जान्छ ?’
आचार्यले प्रश्न गरेका छन्, संकट मोचनको रूपमा जेनजी आन्दोलनको जनादेशलाई वैधताको स्रोत मानेर गठन भएको सरकारका मन्त्रीले मन्त्रिमण्डललाई आफ्नो धन्दा चलाउने प्लेटफर्मको रूपमा प्रयोग गर्न मिल्छ ? यदि यस्तै हो भने यो सरकारले हिजोका सत्ताधारी दललाई प्रश्न गर्ने नैतिक र राजनीतिक शक्ति कहाँबाट पाउँछ ?’ भदौ २३ को कलिला युवाहरूमाथिको राज्य अपराध र राष्ट्रको सार्वभौमिकताको रक्षाको जगमा बनेको सरकारका मन्त्रीले पदको दुरुपयोग गर्दै दल खोल्नुले उनीहरू पुराना दलभन्दा फरक नभएको पुष्टि गरेको छ ।सोमबार मात्रै मन्त्री मुलमान घिसिङले मोरङको बेलबारीमा मन्त्री पद नत्यागी चुनावी मैदानमा उत्रिने बताएका थिए ।
थेगिमले भने घिसिङको बचाउ गरेका छन् । उनले विगतमा पनि अन्तरिम सरकारका प्रधानमन्त्रीहरूले चुनाव लडेको नजिर पेस गर्दै घिसिङले ‘नोमिनेसन’ पछि मात्र राजीनामा दिने बताए । उदाउँदै गरेका यी दुई शक्ति– हर्क र कुलमान– जनताको एजेन्डा स्थापित गर्नुभन्दा पनि एकले अर्कालाई सिध्याउने, जस लिने र पदको शक्ति देखाउने होडबाजीमा लाग्दा दुवैको राजनीतिक भविष्य र विश्वसनीयतामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ । हर्क पनि पछिल्लो समय कुलमान तिर खनिन थालेका छन् ।
साम्पाङले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङको बोली र व्यवहारमा विरोधाभास देखिएको भन्दै कडा आलोचना गरेका छन् ।साम्पाङले घिसिङसँगको भेटलाई स्मरण गर्दै भने, ‘पहिला भेट्दा सरकारमा जान्नँ, भएको अलिअलि लोकप्रियता पनि घट्छ भन्नुहुन्थ्यो । तर, २४ घण्टा नबित्दै सरकारमा जानुभयो र तीनवटा मन्त्रालय लिनुभयो ।’
आफूले जनतालाई ढाँटेर राजनीति नगर्ने जवाफ दिएको बताउँदै साम्पाङले घिसिङलाई केही अवसरवादी समूहले प्रयोग गरिरहेको आरोपसमेत लगाएका छन् । घिसिङलाई अगाडि सारेर स्वार्थ समूहले राजनीतिक फाइदा लिन खोजेको उनको टिप्पणी छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!