जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार दिउँसो २ बजेको प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् ।
एमाले संसदीय दलका नेता यादवलार्ई जबरजस्ती मुख्यमन्त्री बनाउने प्रयास गर्दा एमालेले मधेशको प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री तीनवटै पद गुमाएको छ । बहुमत सांसदको माग वेवास्ता गर्दै होटलमा एमाले नेतालाई मुख्यमन्त्री नियुक्ति गरेर सपश गराई विवादित काम गरेको भन्दै सरकारले प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई यसअघि नै बर्खास्त गरिसकेको छ ।
यस्तै एमालेको इशारामा चलेको आरोप लागेका एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डललाई पनि प्रदेशसभाको दुईतिहाई बहुमतले पदमुक्त गरिसकेको छ । मण्डलले तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा असहयोगव गरेको र एमालेको इशासामा चलेर पदीय मर्यादा उल्लंघन गरेको आरोप थियो ।
सभामुख र प्रदेश प्रमुख गुमाउने अवस्था बनाएर मुख्यमन्त्री भएका यादवले पनि पदबाट राजीनामा दिन बाध्य भएका छन् । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि उनले राजीनामा दिएका हुन् । सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने बताएका थिए । तर, विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले विपक्षी दलहरूप्रति आक्रामाक मन्तव्य प्रकट गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
मुख्यमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्दा एमालेबाहेक अन्य दलका सांसदले भने बैठक बहिष्कार गरेका थिए । प्रदेशसभाका बहुमत सांसदले संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको माग गरेको बेला एमालेबाट नियुक्त तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई महोत्तरीको बर्दिबासस्थित एक होटलमा नियुक्ति पत्र दिएर शपथ गराएकी थिइन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि ७ दलका सांसदहरू सर्वोच्च अदालत गएका थिए। लगत्तै सरकारले भण्डारीई प्रदेश प्रमुखबाट हटाएको थियो ।
सोमबार सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन यादवलार्ई परमादेश दिएको थियो। सोही अनुसार बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो। तर, आफैंले बोलाएको बैठकमा मुख्यमन्त्री यादव गएनन् । त्यसपछि बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।
दिउँसो २ः३० बजे सुरू भएको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि यादवले राजीनामा दिएका हुन् ।
१०७ सदस्यीय प्रदेसभामा सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित जम्मा २५ सांसद मात्रै छन् । जसमा एक सांसद निलम्बित छन्। सात दलीय गठबन्धन भने ७३ जना सांसदको साथसहित बलियो अवस्थामा रहेको छ। यो गठबन्धनमा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेपाली कम्युनिष्ट पार्टीका १६ (माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७), लोसपा ८, र नागरिक उन्मुक्ति पार्टीका १ जना यो गठबन्धनमा छन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!