हर्क साम्पाङ अध्यक्ष रहेको सुम्निमा-पारुहाङ प्रतिष्ठानमाथि अख्तियारको छानविन

हर्क साम्पाङ अध्यक्ष रहेको सुम्निमा-पारुहाङ प्रतिष्ठानमाथि अख्तियारको छानविन

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अघि बढाएको ‘सुम्निमा पारुहाङ प्रतिष्ठान’ परियोजनामाथि अख्तियारले अनुसन्धान थालेको छ ।

उपमहानगर प्रमुख साम्पाङ अध्यक्ष रहेको प्रतिष्ठानले गरेको काममा अनियमितता भएको उजुरी दर्ता भएपछि अख्तियारको इटहरीस्थित कार्यालयले धरान उपमहानगरपालिकासँग प्रतिष्ठानसँग सम्बन्धित सबै वित्तीय तथा संस्थागत कागजात माग गरेको हो ।

अख्तियारले मंसिर १४ गते पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको उजुरीमा छानबिन अघि बढाइने उल्लेख गरेको छ। आयोगले पहिलो चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय–व्यय विवरण, बैंक खाताको स्टेटमेन्टदेखि जग्गा खरिद–बिक्रीसम्मका सबै कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको छ ।

अख्तियारको पत्र आएको कुरा नगर प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट पुष्टि गरेका छन् । ‘सुम्निमा पारुहाङ प्रतिमा किन बनाएको भनेर अख्तियारले सोधेछ ? राज्यले नबनाइदिएकाले आफैं बनाउनु परेन ?’ उनले फेसबुकमा लेखेका छन् ।

अख्तियारमा परेको उजुरीमा नगरप्रमुख र केही कर्मचारबीच मिलेमतो गरी ‘सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल’ दर्ता गरिएको, स्थानीय तहको प्रमुख पदमा रहेका व्यक्तिले आफ्नै अध्यक्षतामा संस्था दर्ता गरेर ‘हित–संघर्ष’ पैदा गरेको र प्रतिष्ठानमार्फत पर्ति ऐलानी श्रेणीका विवादित जग्गा खरिद गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको उल्लेख छ। त्यसैगरी प्रतिष्ठानमा आएको रकमको श्रोत, खर्च प्रक्रिया र रकमको अन्तिम प्रयोग अस्पष्ट भएको आरोप पनि उजुरीमा समेटिएको छ।

मंसिर ९ गते मेयर साम्पाङले साल्पा सिलिचुङबाट ढुङ्गा, माटो र पानी ल्याएर चिण्डे डाँडामा सुम्निमा पारुहाङ प्रतिमाको शिलान्यास गरेका थिए । प्रतिमा निर्माणका लागि प्रयोग हुने जग्गा भने विगतदेखि नै विवादित मानिँदै आएको छ । उजुरी दर्ता भएपछि अब यस विषयमा अख्तियारले औपचारिक छानबिन अघि बढाउने भएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्