विराटनगर । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।
पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ भने पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशित हुनेछ। त्यसपछि नामावलीमाथि दाबी विरोध तथा उजुरी छानबिन गरेर पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।
पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिन्ह वितरण गर्ने तालिका छ । फागुन २० गतेसम्ममा राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल समाप्त हुँदैछ । यीमध्ये बामदेव गौतम राष्ट्रपतिद्वारा मनोनीत सदस्य हुन् ।
राष्ट्रपतिबाट मनोनित सदस्यको हकमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनित गर्र्नेछन् । बाँकी १८ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो। कोशी प्रदेशबाट तीन, मधेश प्रदेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई तथा लुम्बिनी प्रदेशबाट तीन जना सदस्य निर्वाचित हुनेछन् ।
कार्यकाल सकिनेहरुमा नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ छन् । कार्यकाल सकिनेहरुमा एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।
माओवादीका गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवानको कार्यकाल सकिनेछ । एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि सकिने भएकोले सोही पदमा निर्वाचन हुन लागेको हो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!