विराटनगर । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का नाममा मोरङमा भएको अराजक प्रदर्शन, सरकारी कार्यालयमा आगजनी र निजी घर तोडफोडमा संलग्नहरूलाई मोरङ प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
आन्दोलनको आडमा सार्वजनिक सम्पत्ति नष्ट गर्ने र आतंक मच्चाउने कार्यमा संलग्न भएको आरोपमा मंगलबारसम्म प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिइसकेको छ । मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार प्रहरीले ‘अपरेसन’ नै चलाएर तोडफोडमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन थालेको हो ।
प्रहरीले सुरुवाती चरणमा २१ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि दोस्रो चरणमा १० जना र सोमबार इलाका प्रहरी कार्यालय रंगेलीले थप ८ जना गरी कुल ३९ जना पक्राउ परेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालका अनुसार पक्राउ पर्नेहरू निर्दोष नपरून् भनेर प्रहरीले घटनास्थलका सिसिटिभी फुटेज, मोबाइल भिडियो र फोटोहरूको सुक्ष्म विश्लेषण गरेको छ । “हामीले भिडियो फुटेजकै आधारमा मोरङमा विध्वंस मच्चाउने झण्डै २ सय जनाको स्पष्ट पहिचान गरेका छौं,” मोरङ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, “पहिचान भएकाहरूलाई खोजी–खोजी पक्राउ गर्ने क्रम तीव्र पारिएको छ ।”
सोमबार रंगेलीबाट पक्राउ परेका ८ जना रहेका छन् । रंगेली र सुनवर्षी नगरपालिकामा तोडफोड तथा आगजनी गर्ने कार्यको नेतृत्व एमाले निकट युवा संगठनका नेता आनन्द साहले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, इलाका प्रशासन कार्यालय र रंगेलीका नगरप्रमुखको निजी निवासमा आगजनी गर्न भीडलाई उक्साउने र नेतृत्व गर्ने मुख्य योजनाकार आनन्द नै हुन् । उनी एमाले नेता सन्तोष साहका छोरा हुन् । सन्तोष साह रंगेलीका पूर्व मेयर उम्मेदवार र प्रदेश सभा सदस्यका प्रत्यासी समेत हुन् ।
रमाइलो पक्ष त के छ भने, रंगेली र सुनवर्षी दुवै नगरपालिकामा एमालेले नै मेयर र उपमेयर जितेको छ । आफ्नै पार्टीको नेतृत्व रहेको स्थानीय सरकार र सरकारी सम्पत्तिमा एमालेकै जिम्मेवार कार्यकर्ताले पेट्रोल छर्कनुलाई ‘लज्जास्पद’ र अराजकताको पराकाष्ठाको रूपमा हेरिएको छ ।
सोमबार पक्राउ पर्ने अन्य आरोपीहरूमा रंगेली–३ का भुपाल भण्डारी, कुमार मण्डल, रुपक गौतम, रुपेश यादव तथा कटहरीका समिर क्षेत्री, दोर्जे प्रतिक तामाङ र गणपत यादव रहेका छन् ।
पक्राउ परेकाहरूमाथि प्रहरीले सार्वजनिक सम्पत्ति नष्ट गरेको, सरकारी कार्यालयमा आगजनी गरेको र संगठित रूपमा अपराध गरेको कसुरमा म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको छ । प्रहरीले अझै फरार रहेका अन्य अभियुक्तहरूको खोजी कार्य जारी राखेको जनाएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!