विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ महिनाका लागि निलम्बन गरिएका पूर्वमन्त्री समेत रहेका नेता बलबहादुर साम्सोहाङले आफूहरूमाथि संस्थापन पक्षले प्रतिशोध साँधेको प्रतिक्रिया दिएका छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण एमाले रक्षात्मक अवस्थामा पुगेको भन्दै तत्काल नेतृत्व हस्तान्तरणको मागसमेत गरेका छन्।
साम्सोहाङले आफूहरूलाई योजनाबद्ध रूपमा महाधिवेशनमा जानबाट रोक्न खोजिएको र एमालेभित्र फरक मत राख्नेलाई सिध्याउने खेल भइरहेको आरोप लगाए। उनले एमाले अहिलेको नेतृत्व र शैलीबाट अघि बढे भविष्यमा ठूलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।
नेता साम्सोहाङले एमाले सरकारमा हुँदा भएका गतिविधि र पार्टीले ब्यहोरेको क्षतिको जिम्मा अध्यक्ष ओलीले लिनुपर्ने बताएका छन्। उनले अध्यक्ष ओलीले विधि र पद्धति मिचेर आफूखुसी गरेको भन्दै कडा आलोचना गरे।
साम्सोहाङले भने, ‘हाम्रो पार्टीको अध्यक्ष केपी ओली नै हो, महासचिव शंकर पोखरेल नै हो। तर अहिलेको सन्दर्भमा पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्छ। एमाले देशमा धेरै आलोचित भयो, त्यो नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा भएको हो। त्यसको जिम्मा नेतृत्वले लिनुपर्छ।’
उनले ७० वर्षे उमेर हदको विषयलाई नेतृत्वले आफ्नो स्वार्थ अनुकूल प्रयोग गरेको आरोप लगाए। ‘७० वर्षको उमेर हद आफैँ राख्ने, आफैँ हटाउने ? २ कार्यकाल आफैँ राख्ने अनि आफैँ हटाउने ? एउटा कम्युनिस्ट पार्टीमा यस्तो लोकतान्त्रिक विधि हुन्छ ?,’ साम्सोहाङले प्रश्न गर्दै भने, ‘त्यसकारण केपी ओलीले अब नेतृत्व छोड्नुपर्छ। उहाँ ससम्मान ढंगले बस्नुपर्छ ।’
पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र नेतृत्व नसच्चिए एमालेको भविष्य संकटमा पर्ने उनको विश्लेषण छ। उनले चेतावनी दिँदै भने, ‘एमाले अब सुध्रिएन र केपी ओलीको त्यही खालको तरिका र शैलीबाट पार्टी अगाडि बढ्यो भने एमालेले कुनै पनि बेला ठूलो नोक्सान ब्यहोर्नुपर्छ ।’
उनले थपे, ‘एमालेले यही तरिका र शैलीबाट अगाडि बढ्दा अहिले नोक्सान सहनुपर्छ। धेरै पुस्ता पछाडि फेरि एमाले ठूलो हुन सक्ला, तर अहिलेकै शैलीले चाहिँ एमालेलाई क्षति नै गर्छ।’ उनले नेपालमा दुईवटा ठूला कम्युनिष्ट पार्टीहरु समान ढंगले जान नसक्ने भन्दै त्यस विषयमा हेक्का राख्न पनि एमालेलाई सुझाव दिए ।
११औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा ताप्लेजुङमा विवाद उत्पन्न भएको थियो। सो क्रममा निर्वाचन कमिटीका संयोजक राजकुमार चुडालमाथि हातपात र हुलहुज्जत गरेको आरोपमा जिल्ला कमिटीले प्रदेशलाई कारबाहीको सिफारिस गरेको थियो।
साम्सोहाङले भने सो घटना स्वीकार गर्दै आफूहरूलाई महाधिवेशनमा जानबाट रोक्न खोजेपछि प्रतिवाद गर्दा अस्वभाविक घटना भएको बताए। सोही घटनालाई लिएर एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा हस्ताक्षरित पत्रमार्फत साम्सोहाङलाई ६ महिना र पोमुलाई ८ महिनाका लागि निलम्बन गरिएको छ।
कारबाहीका बाबजुद आफूहरू एमालेमै रहने र पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्ने साम्सोहाङले स्पष्ट पारेका छन्। ‘यो एक–दुई वटा कारबाही र निर्णयले हाम्रो राजनीति समाप्त हुन्छ भन्ने मलाई लाग्दैन। हामी एमाले छोड्दैनौँ, यसैमा डटेर बस्ने हो,’ उनले भने।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!