विराटनगर । नेकपा (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि कोशी प्रदेशमा प्रतिनिधि छनोट प्रक्रिया सकिएको छ ।
प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बु, खोटाङ, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम गरी ७ जिल्लामा प्रतिनिधि चयन सर्वसम्मत टुंगिएको छ भने बाँकी ७ जिल्लामा निर्वाचन प्रक्रिया अपनाइएको छ । तर, निर्वाचन भएका जिल्लाहरूबाट प्राप्त मत परिणामले एमाले वृत्तमा नयाँ बहस सिर्जना गरेको छ, ‘पार्टीका संगठित सदस्य नै किन मतदान गर्न आएनन् ?’
झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, धनकुटा र संखुवासभामा निर्वाचनमार्फत प्रतिनिधि छानिँदा देखिएको कार्यकर्ताको न्यून उपस्थिति निराशाजनक छ । कतिपय जिल्लामा ५० प्रतिशतभन्दा कम मत खसेको छ भने पार्टी अध्यक्ष केपी शर्मा ओलीकै गृह जिल्ला र निर्वाचन क्षेत्रमा समेत ठूलो संख्यामा कार्यकर्ता अनुपस्थित देखिएका छन् ।
मतदान प्रक्रियामा सहभागी नहुनेको संख्या ओखलढुंगामा सबैभन्दा धेरै छ । यहाँ ७ हजार १३५ जना संगठित सदस्य (मतदाता) रहेकोमा जम्मा १ हजार ५१८ मत मात्र खस्यो । यसको अर्थ करिब ७९ प्रतिशत पार्टी सदस्यहरू आफ्नो प्रतिनिधि छान्ने प्रक्रियामै सामेल भएनन् ।
एमाले ओखलढुंगाका उपसचिव राजिव कटुवालले यसलाई प्राविधिक समस्याका रूपमा अथ्र्याएका छन् । उनले भने, ‘भौगोलिक विकटता र सूचना प्रवाहमा भएको ढिलाइले गर्दा सबै कार्यकर्तामा जानकारी पुग्न सकेन, जसले गर्दा उपस्थिति कम भयो ।’ तर, पार्टीको मेरुदण्ड मानिने संगठित सदस्यहरू नै यति ठूलो संख्यामा अनुपस्थित हुनुलाई केवल ‘सूचनाको अभाव’ मान्न नसकिने विश्लेषकहरू बताउँछन् ।
एमालेको गढ मानिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको तथ्याङ्क पनि उत्साहजनक छैन । झापाका ५ वटा निर्वाचन क्षेत्रमा कुल १७ हजार ३२१ मतदाता रहेकामा ११ हजार ९३ जना (करिब ६४ प्रतिशत) ले मात्र मतदान गरे । समग्रमा झापामा ३६ प्रतिशत कार्यकर्ता मतदान प्रक्रियाबाट बाहिर रहे ।
अझ रोचक त के छ भने अध्यक्ष ओलीको आफ्नै निर्वाचन क्षेत्र (झापा–५) मा ४ हजार १ सय मतदातामध्ये २ हजार ४७९ जनाले मात्र मतदान गरे । अध्यक्षकै क्षेत्रका करिब ४० प्रतिशत संगठित सदस्यले प्रतिनिधि छनोटमा रुचि देखाएनन् । त्यस्तै झापा क्षेत्र नं. १ र २ मा करिब ४५ प्रतिशत कार्यकर्ता मतदानमा सहभागी भएनन् ।
कोशीको अर्को ठूलो जिल्ला मोरङमा पनि आधाजसो कार्यकर्ता मतदानमा आएनन् । मोरङ क्षेत्र नं. ३ मा ५४५१ मतदातामध्ये ४७ प्रतिशत मात्र सहभागी भए । क्षेत्र नं. ६ मा ४९ प्रतिशत मत खस्यो भने क्षेत्र नं. १ र ४ मा ५५ प्रतिशत हाराहारी मात्र उपस्थिति रह्यो । धनकुटामा पनि ८ हजार २३६ जनाले सदस्यता नवीकरण गरेकोमा जम्मा ४ हजार ६८८ (करिब ५७ प्रतिशत) मत मात्र खसेको छ ।
पार्टी पंक्तिमा देखिएको यो चरम निराशालाई नेताहरूले ‘व्यस्तता’ र ‘सूचनाको अभाव’ भनेर टार्न खोजे पनि कार्यकर्ता तहमा भने नेतृत्वप्रतिको असन्तुष्टि नै प्रमुख भएको विश्लेषकहरु बताउँछन् । प्रतिनिधि छनोटका लागि उम्मेद्वार बनेकी एमाले सुनसरीकी नेतृ अन्जु पाण्डेले भनिन्, ‘प्रतिनिधि भोटै हाल्न आएनन्, कति फस्ट्रेसन छन् भन्नु न… मेरो वडामा ६४० (संख्या अनुमानित) मतमा ३०० मत मात्र खस्यो, बाँकी ३४० कहाँ गए ? आएनन् । मैले भोट माग्दा एकजना विद्रोही जान्छ, बाँकी सबै झोले÷झ्याम्प्ले जान्छन्, मिलिमिली जानु नि, किन बेकार नाटक गरेको भनेर साथीहरू भोट हाल्नै आएनन् । सक्षमलाई पाखा लगाउने र नेतृत्वको चाकरी गर्नेलाई मात्र अवसर दिने प्रवृत्तिले कार्यकर्तामा चरम वितृष्णा छ ।’
राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेलले आफ्नै पार्टीको चुनावमा कार्यकर्ता सहभागी नहुनुलाई गम्भीर राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् । उनले यसलाई नेतृत्वप्रतिको मोहभंगको संज्ञा दिएका छन् । ‘यसको सीधा अर्थ त के हो भने पार्टीको कार्यकर्ता, जो अब पार्टीसँग असन्तुष्ट छ या त्योसँग विमुख छ, त्यसले गर्दा (सहभागी भएन) । पहिला त बन्यो, यत्रो जनआन्दोलनपछि, अब उसलाई त्यो पार्टीप्रति कुनै रुचि रहेनछ भन्ने कुरा त्यसले औंल्यायो ।’
पार्टीको लोकप्रियता पार्टी कार्यकर्ताहरूकै बीचमा घट्नु भनेको निराशाको संकेत भएको उनले बताए । ‘यसले के देखाउँछ भने, त्यो पार्टीप्रति जुन हिंजो विश्वास भएर पार्टीको कार्यकर्ता भएको थियो, अब त्यो कार्यकर्तामा त्यो पार्टीप्रति कुनै किसिमको विश्वास रहेनछ,’ पोखरेलले भने ।
सूचना नपाएको वा भौगोलिक विकटता भन्ने तर्कमा दम नरहेको उनको दाबी छ । ‘ती कुराहरू चाहिँ प्राविधिक कुराहरू भए । यसको पोलिटिकल म्यासेज भनेको चाहिँ त्यो कार्यकर्तामा आफ्नै पार्टीप्रति अविश्वास रहेछ भन्ने कुरा यसले बतायो,’ पोखरेलले भने ।
झापा एमालेका एक नेताले नाम नखुलाउने शर्तमा यो गम्भीर चुनौती र खोजीको विषय भएको बताए । ‘यो एउटा च्यालेन्ज चाहिँ थपिएको छ । दुइटा कारण हुन सक्छ… एउटा निराशाको कुरा पनि हुन सक्छ । पार्टी सदस्य लिएकै छ, अब हेरौँ परिस्थिति, परिस्थिति अनुकूल भयो भनेदेखि चाहिँ लाग्ने नभएदेखि चाहिँ देखाजाएगा भन्ने खालको पनि एउटा पंक्ति देखिन्छ,’ उनले भने, ‘यो चाहिँ खोजीको विषय बन्यो… यो गम्भीर विषय छ । यसको अध्ययन गर्नुपर्ने, खोजी गर्नुपर्ने, के हो त पार्टी सदस्यहरूप्रतिको निराशा हो कि ? वास्तवमा उत्साह नै नभएको हो कि भन्ने कुरा चाहिँ एउटा चिन्ताको विषय बनेको छ ।’
यसअगाडिका पार्टीका आन्तरिक चुनावमा ७५ प्रतिशत भन्दा माथि मतदान हुने गरेको बताउँदै उनले भने, ‘यो एउटा परिवेशमा नभए त यस्तो त हुँदैन थियो । पार्टीको चुनावहरूमा त योभन्दा अगाडिका चुनावहरूमा त ७५, ८० प्रतिशत त झथ्र्यो नि त मत त ।’
पाण्डे पनि राम्रा मान्छेहरुलाई दबाउने र कारबाही गर्ने गर्दा कार्यकर्तामा निराशा छाएको बताउँछिन् । ‘राम्रा मान्छे र अवसर पाउँदा गर्न सक्ने ल्याकत राख्ने मान्छेहरू दबाइयो… आवाज दबाइयो… भजन कीर्तन गाउने, आफ्ना वरिपरि घुम्ने मान्छेहरूलाई मात्र अवसर दिइयो । राम्रा काम गर्ने साथीहरूको कामलाई पनि मूल्यांकन गरिएन,’ उनले भनिन्, ‘जनता राजनीतिक दलहरू प्रति एकदमै उदासीन छन्, अलि सचेत कार्यकर्ता नै उदासीन छन् । …यी मान्छेहरूलाई कसरी, कहाँबाट फाल्ने भन्ने कुरा चाहिँ महाधिवेशन अवसर हो ।’



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!