इटहरी । सुनसरीको इनरुवा नगरपालिका–९ नहरचोक नजिक प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ बा ३ च ५५८५ नम्बरको स्कारपियोबाट ४६० केजी (१६ बोरा) गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साँझ करिब ७ बजेतिर इनरुवाबाट जाल्पापुरतर्फ जाँदै गरेको उक्त स्कारपियोलाई प्रहरीले नहरचोकमा रोकेर जाँच गर्न खोज्दा चालकले गाडी भगाएका थिए । त्यसपछि सोही रुटमा खटिएको अस्थायी प्रहरी पोष्ट साम्बला पोखरीचोकको टोलीले स्कारपियो छाडिएको अवस्थामा फेला पारेको थियो ।
प्रहरी प्रमुख केशवकुमार थेवेको कमाण्डमा पुगेको टोलीले सवारी साधन खानतलासी गर्दा प्लास्टिकका बोराभित्र प्याक गरिएका १६ बोरा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बरामद गाँजा सहितको स्कारपियोलाई प्रहरीमा राखिएको छ ।
फरार चालकको खोजी कार्य प्रहरीले तीव्र रुपमा अघि बढाएको सुनसरी प्रहरीले जनाएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!