मंसिर २६ भित्र सबै जिल्लामा ‘एकता सन्देश सभा’ सम्पन्न गर्न नेकपाको निर्देशन

मंसिर २६ भित्र सबै जिल्लामा ‘एकता सन्देश सभा’ सम्पन्न गर्न नेकपाको निर्देशन

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश कार्यालयले आगामी मंसिरर २६ गतेभित्र प्रदेशका सम्बन्धित जिल्लाहरूमा ‘पार्टी एकता सन्देश सभा’ सम्पन्न गर्न निर्देशन दिएको छ ।

विराटनगरमा बसेको प्रदेशस्तरीय बैठकले पार्टी केन्द्रको परिपत्र अनुसार तोकिएको समयसीमाभित्र जिल्लास्तरीय सभाहरू सक्ने निर्णय गरेको हो । प्रदेश कार्यालयले जारी गरेको परिपत्रमा जिल्लाहरूमा तत्काल संयुक्त बैठक आयोजना गर्न भनिएको छ । उक्त बैठकबाट जिल्लास्तरीय कार्यक्रमको मिति र स्थान यकिन गरी प्रदेश कार्यालयलाई यथाशीघ्र जानकारी गराउन समेत निर्देशन दिइएको छ ।

पार्टी एकतापछि तल्लो तहसम्म सन्देश पुर्‍याउने उद्देश्यले केन्द्रले तोकेका जिल्लाहरूको सन्देश सभाहरू केन्द्रीय परिपत्र अनुसार नै समयमै सम्पन्न गर्न यो कदम चालिएको हो ।

यस्तै, बैठकले मङ्सिर १५ गते विराटनगरमा आयोजित ‘प्रदेशस्तरीय पार्टी एकता सन्देश सभा’ को समीक्षा समेत गरेको छ । उक्त सभा व्यवस्थापन, जनसहभागिता र विचार सम्प्रेषणको दृष्टिकोणले सन्तोषजनक र सफल रहेको निष्कर्ष बैठकले निकालेको छ । सभा सफल बनाउन खट्ने नेता, कार्यकर्ता, सहभागी जनसमुदाय तथा सहयोगी संस्थाहरूलाई पार्टीले धन्यवाद ज्ञापन गरेको छ ।

निर्णय कार्यान्वयनका लागि जारी गरिएको परिपत्रमा नेताहरू हर्क बहादुर नेम्बाङ (मिक्सो), सरिता खड्का र सन बहादुर राई लगायतले हस्ताक्षर गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्