धनकुटा एमालेमा लफडा, पुनःप्रतिनिधि छान्न केन्द्रको निर्देशन

धनकुटा एमालेमा लफडा, पुनःप्रतिनिधि छान्न केन्द्रको निर्देशन

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा धनकुटामा देखिएको विवाद थप पेचिलो बन्ने संकेत देखिएको छ । जिल्लामा यसअघि देखि नै नै राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्षबीच द्वन्द्व चलिरहेको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालयले धनकुटामा यसअघि गरिएको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियालाई बदर गर्दै पुनः निर्वाचन गर्न निर्देशन दिएको छ । केन्द्रले प्रतिनिधि छनोट स्वच्छ, निष्पक्ष र पारदर्शी नभएको ठहर गर्दै ५ दिनभित्र यहि मंसिर (२१ गतेभित्र) पुनः निर्वाचन गर्न अल्टिमेटम दिएको छ । तर, यो निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी केन्द्रले कोशी प्रदेश इन्चार्ज शेरधन राई र जिल्ला इन्चार्ज राजेन्द्र राईलाई संयुक्त रूपमा तोकेपछि जिल्लाको राजनीति तरंगित बनेको छ ।

राजनीतिक वृत्तमा राजेन्द्र राई र शेरधन राईबीचको सम्बन्ध खासै सुमधुर नरहेको चर्चा चल्ने गर्छ । एक–अर्कासँग ‘राम्रो सम्बन्ध नभएका’ यी दुई नेतालाई नै केन्द्रले विवाद समाधान र सहजीकरणको जिम्मा दिएको छ । राजेन्द्र राई जिल्लाको नेतृत्वमा हाबी हुन खोजिरहेको अवस्थामा प्रदेश इन्चार्जको हैसियतमा शेरधन राई प्रदेशसभा सदस्य समेत रहेका इन्द्रमणि पराजुलिसँग नजिक छन् ।

केन्द्रीय कार्यालयले पार्टीको ‘अपानी–१३’ अनुसार निर्वाचन नभएको भन्दै यसअघिको छनोट खारेज गरेको हो । अब प्रभावकारी माध्यमबाट सबै संगठित सदस्यलाई सूचना सम्प्रेषण गरी पालिका स्तरमै मतदान प्रक्रियाबाट प्रतिनिधि छनोट गर्नुपर्नेछ ।

यसअघि राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्षबीचको गुटगत लडाइँले सतहमा आएको विवाद अब शेरधन र राजेन्द्रको ‘प्रतिष्ठाको लडाइँ’ मा परिणत हुने जोखिम बढेको छ । केन्द्रको निर्देशन पालना गर्दै २१ गतेभित्रै निष्पक्ष निर्वाचन गराउनु यी दुवै नेताका लागि चुनौतीको विषय बनेको छ । यसअघि छनोट भएका सबै प्रतिनिधि शेरधन इतरका थिए ।

यसअघि ओखलढुंगामा पुनः प्रतिनिधि छनौट गर्न एमाले केन्द्रले निर्देशन दिएको थियो । ओखलढुंगामा सदरमुकाममा मात्र मतदान गराएर प्रतिनिधि छानेको भन्दै त्यसलाई बदर गरिएको हो । जिल्लाबाट छानिएका सबै प्रतिनिधि वरिष्ठ नेता ईश्वर पोखरेल पक्षधर रहेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्