विराटनगर । मोरङको रंगेली र सुनवर्षी नगरपालिकामा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी आतंक मच्चाएको आरोपमा नेकपा एमाले निकट युवाका नेता आनन्द साहसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
एमालेकै मेयर र उपमेयर रहेको नगरपालिकामा एमालेकै कार्यकर्ताले आगजनी र तोडफोड गरेको आरोपमा आनन्दसहित ८ जनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, इलाका प्रशासन कार्यालय रंगेली र रंगेली नगरप्रमुखको निजी निवासमा आगजनी गर्ने कार्यको मुख्य योजनाकारका रूपमा आनन्द साह देखिएका छन्। मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालका अनुसार घटनास्थलबाट प्राप्त भिडियो तथा सीसीटीभी फुटेजमा साहले नै भीडलाई नेतृत्व गर्दै आगजनी र तोडफोडका लागि उक्साएको स्पष्ट देखिएको छ।
पक्राउ परेका मुख्य आरोपी आनन्द सामान्य कार्यकर्ता मात्र होइनन्। उनी एमाले मोरङका सल्लाहकार एवं क्षेत्र नं. ५ का नेता सन्तोष साहका छोरा हुन्। सन्तोष साह आफैँ रंगेलीको पहिलो स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार थिए भने पछि प्रदेश सभा क्षेत्र नं. (५) क बाट एमालेको तर्फबाट चुनाव लडिसकेका व्यक्ति हुन्।
रंगेली र सुनवर्षी दुवै नगरपालिकामा नेकपा एमालेले बहुमतसहित मेयर र उपमेयर जितेको छ। तर, आफ्नै नेतृत्वमा सञ्चालन भइरहेको स्थानीय सरकार र सार्वजनिक सम्पत्तिमाथि एमालेकै जिम्मेवार पदमा रहेका व्यक्तिले पेट्रोल छर्कनुलाई ‘लज्जास्पद’ घटनाका रूपमा हेरिएको छ।
पक्राउ पर्ने अन्य आरोपीहरूमा रंगेली ३ का भुपाल भण्डारी, कुमार मण्डल, रुपक गौतम, रुपेश यादव, कटहरीका समिर क्षेत्री, दोर्जे प्रतिक तामाङ, गणपत यादव रहृेका छन् ।
प्रहरीले पक्राउ परेकाहरू उपर सार्वजनिक सम्पत्ति नष्ट गरेको, सरकारी कार्यालयमा आगजनी गरेको र संगठित अपराध अन्तर्गत म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको छ। एसपी कट्वालले फुटेजको सहारामा आगजनीमा संलग्न अन्य फरार व्यक्तिहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी दिएका छन्।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!