विराटनगर । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा नेकपा एमालेको सचिव योगेश भट्टराई निकट दुई नेतालाई पार्टीको प्रदेश कमिटिले कार्वाही गरेको छ ।
पार्टीका अध्यक्ष केपी ओलीको प्रखर आलोचना गर्दै आएका नेता भट्टराई निकट ताप्लेजुङका २ कार्यकर्तालाई प्रदेश कमिटिले कार्वाही गरेको हो ।
कार्वाहीमा पर्नेहरु प्रदेश सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमु छन् । उनीहरुलाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारबाट मुक्त गरेर निलम्बन गरेको पत्र प्रदेश कमिटिले पठाएको हो । प्रदेश कमिटिले मंसिर ११ गतेको मितिमा उनीहरुलाई स्पष्टिकरण सोधेरे निलम्बनको पत्र पठाएको हो ।
महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको भन्दै उनीहरुमाथि कार्वाही गरिएको हो । पार्टीको जिल्ला कमिटिको सिफारिसअनुसार उनहिरुलाई कारबाही गरिएको पत्रमा उल्लेख छ ।
ताप्लेजुङमा महाधिवेशन प्रतिनिधिको चयन भने सर्वसम्मत रुपमा गरिएको थियो । कारबाहीको पत्रमा प्रदेश अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन् । तर, उनले कार्वाहीको विषय पुरानो भएको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । एमाले नेता तिलकुमार मेन्याङ्बोले भने उनीहरुललाई स्पष्टिकरण सोधिएको पुष्टि गरेका छन् ।
प्रदेश कमिटिले पठाएको पत्रमा मंसिर ६ गते जिल्ला कमिटिले पठाएको पत्रको आधारमा जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख छ । ‘ताप्लेजुङ जिल्ला कमिटीको मङ्सिर ६ गतेको पत्रअनुसार ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि गरेको हमला र निर्वाचन प्रकियामा अवरोध खडा गर्ने काम गर्नुभएको’, पत्रमा भनिएको छ।
जिल्ला कमिटीबाट कारबाहीको सिफारिस भएको उल्लेख गर्दै सल्लाहकार परिषद् सदस्यबाट साम्सोहाङलाई मुक्त गरिएको छ। यसबारेमा १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशनसमेत एमाले पूर्वजिल्ला अध्यक्ष साम्सोहाङलाई कमिटीले दिएको छ ।
पोमुलाई पनि त्यही ब्यहोराको पत्र थमाइएको छ । यसअघि पनि दुवैजनालाई प्रदेश कमिटीले कारबाही गरेको थियो । गत वैशाखमा पनि यी दुईमाथि कारबाही गर्दै एक महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिएको थियो ।
गत वैशाख १८ गते राष्ट्रिय युवा सङ्घ नेपाल ताप्लेजुङको अधिवेशनबाट संस्थापन पक्षले एकलौटी ढङ्गले जिल्ला कमिटी गठन गरेको भन्दै साम्सोहाङ पक्षले विरोध गरेका थिए । त्यहीकारण उनीहरुमाथि कार्वाही भएको थियो ।




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!