जनकपुर बोल्ट्सको पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित

जनकपुर बोल्ट्सको पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित

विराटनगर । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा पहिलो जित हात पारेको छ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो सफलता दर्ता गरेको हो।

चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमै चार विकेट गुमाएर पूरा गर्यो। जनकपुरका अनिल शाहले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रनको आकर्षक अर्धशतक प्रहार गरे। त्यस्तै माज शदागदले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको विस्फोटक पारी खेले। आसिफ शेखले १८ रन जोडे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेटका क्षतिमा १७६ रन बनाएको थियो। चितवनका डेभिड मलानले ५४ बलमा ४ चौका र ५ छक्कासहित ८० रनको शानदार अर्धशतक प्रहार गरे। अर्जुन साउदले ३९ बलमा ५२ रन जोडे भने कप्तान कुशल मल्लले ३० रन योगदान गरे।

जनकपुरका कप्तान अनिल शाह, रुपेश सिंह, निकोल इस्टोन र माज शदागदले एक–एक विकेट लिए। यो जितसँगै जनकपुरले पाँच खेलपछि पहिलो अंक जोडेको छ भने चितवन राइनोजले पाँच खेलमा ४ अंकसहित प्रतिस्पर्धा जारी राखेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्