काठमाडौँ । भारतको उत्तर प्रदेशको बलरामपुर जिल्लामा सुनौलीबाट दिल्ली जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएपछि भीषण आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
मृतकमध्ये अधिकांश नेपाली नागरिक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनामा घाइते भएका २४ जनामध्ये छ जनाको अवस्था गम्भीर छ।
यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे २ बजेतिर कोतवाली देहात थाना क्षेत्रको फुलबरिया सडकमा ठोक्किएका हुन् । यात्रुबसलाई न्यानो लुगा बोकेको ट्रकले ठक्कर दिएको र त्यसपछि बस करिब १०० मिटर घिस्रिँदै हाइटेन्सन लाइनको पोलमा ठोक्किएर आगलागी भएको बताइएको छ। पोल बसमाथि खसेपछि आगलागी झनै ठूलो भएको र बस पूर्ण रूपमा जलेर नष्ट भएको भारतीय अधिकारीहरूको भनाइ छ।
भीषण आगलागीका कारण बसचालक र सहचालकको अवस्थाबारे अझै कुनै जानकारी प्राप्त छैन। केही यात्रु भने झ्यालको सिसा फोडेर ज्यान जोगाउन सफल भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनापछि प्रहरी र उद्धार टोली तुरुन्तै घटनास्थल पुगेका थिए। घाइतेहरूलाई नजिकैको अस्पताल पुर्याइएको छ। बसमा कुल ४५ जना सवार रहेका थिए, जसमा धेरैजसो नेपाली भएको बताइएको छ।
भारतीय पक्षले दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!